हान्झाउ– चीनमा जारी १९औं एसियाली खेलकुदमा डेब्यु गरेको नेपाल सबै खेलमा पराजित भएको छ।
रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको नेपालको पुरुष टोली सबै खेलमा पराजित हुँदै अन्तिम स्थानमा रह्यो।
मंगलबार भएको ९–१३ औं स्थान निर्धारणको लागि भएको अन्तिम खेलमा पनि नेपाल पराजित भयो। हान्झाउ नर्मल युनिभर्सिटी कान्क्विन एथ्लेटिक्स फिल्डमा भएको खेलमा अन्तिम नेपाल ओसिए इन्डेपेन्डेन्ट एथ्लेटक टिमसँग ६८–० अन्तरले पराजित भयो।
प्रतियोगितामा नेपालले बेहोरेको यो सबैभन्दा ठूलो हारसमेत हो। यससहित नेपालले खेलेको सबै ६ खेल हारेको हो।
६ खेल खेल्दा नेपालले समूह चरणमा यूएईविरुद्ध मात्र स्कोर गर्न सफल भएको थियो। उक्त खेलमा नेपाल ५५–७ ले पराजित भएको थियो।
समूह डी मा नेपाल त्यसपछि चीनसँग ६५(० र अफगानिस्तानसँग ४१–० ले पराजित भयो।
समूह चरणमा तीनवटै खेलमा पराजित समूह चरणबाट बाहिरिएपछि ९ देखि १३औं स्थानसम्मका लागि अन्य तीन खेल खेलेको थियो। जसमा फिलिपिन्ससँग ५५–० र थाइल्याण्डसँग ३६–० ले पराजित भयो।
एसियाडमा चौथो दिनको खेल चलिरहँदा नेपालको प्रदर्शन निराशाजनक रहेको छ। अहिलेसम्म केही खेलका खेलाडीले एक खेल जित्ने बाहेक नेपालको कुनै उपलब्धि भएको छैन।
नेपालले पदकको आशा गरेको तेक्वान्दो र बक्सिङमा पनि त्यस अनुसारको प्रदर्शन देखिएको छैन।
रग्बी सहित केही खेललले नेपालबाट पहिलो पटक एसियन गेम्समा सहभागिता जनाएका छन्।
नेपालले प्रतिस्पर्धा गरेको पुरुष भलिबल, सुटिङ, साइक्लिङ, रग्बी र जुडोमा चुनौती समाप्त भइसकेको छ।