आफ्नो छालालाई राम्रो र चम्किलो बनाउनका लागि घरमै पाइने केही घरेलु विधिको प्रयोग गर्नुभयो भने प्राकृतिक रूपमा नै तपाईंलाई फाइदा मिल्न सक्छ ।
यसका लागि अण्डा निकै फलदायी मानिन्छ । एक अध्ययनअनुसार अण्डाको बोक्राले पनि छाालालाई सुन्दर बनाउन निकै मद्दत गर्दछ ।
अण्डाको बोक्रामा पाइने एसिड र गुणले छालाको सफाइ गर्दै त्यसलाई चम्किलो बनाउँछ । त्यसैले घरमा अण्डाका विभिन्न परिकार बनाउँदा अण्डाको बोक्रालाई जतन गरेर राख्नुहोस् ।
अण्डाको बोक्रालाई राम्ररी सफा गरेर घाममा सुकाउनुहोस् । सुकेपछि त्यसलाई मिक्चरमा पिसेर धुलो बनाउनुहोस् । यसलाई अन्य सामग्रीसँग मिसाई प्रयोग गर्न सकिन्छ ।
छालामा अण्डाको बोक्रा लगाउँदा रोमछिद्र खुल्ने गर्दछ र छाला सफा, स्वस्थ र कोमल हुने गर्दछ । अण्डाको बोक्राको पाउडरमा कागती र मह मिसाएर एक गाढा पेस्ट बनाउनुहोस् ।
यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् र पछि सफा पानीले धुनुहोस् । अण्डाको बोक्राले बनेको यो मास्कले छालाको सफाई गर्दछ र रोमछिद्रलाई बन्द हुनबाट जोगाउँछ ।
अण्डाको बोक्रामा प्राकृतिक प्रोटिन र भिटामिन पाइन्छ जसले गर्दा छालालाई जवान र चम्किलो बनाउँछ । अण्डाको बोक्राको पाउडर २ चम्चा लिनुहोस् र त्यसमा मह र बेसन मिसाउनुहोस् ।
यो मास्कलाई अनुहारमा लगाउनुहोस् र १५ मिनेटपछि धुनुहोस् । यो प्रक्रियालाई हप्तामा ३–४ पटक अपनाउनुहोस् र जवान र चम्किलो छाला पाउनुहोस् ।
यदि तपाईंको आँखामुनिको छाला सुक्खा छ भने छालालाई राम्रो बनाउन अण्डाको बोक्रालाई प्रयोगमा ल्याउनुहोस् । २–४ चम्चा अण्डाको बोक्राको पाउडरमा मह मिसाउनुहोस् ।
दुवैलाई मिसाएर निकै राम्रोसँग मिसाउनुहोस् र छालामा लगाएर गोलाकार दिशामा आँखावरिपरि मसाज गर्नुहोस् । प्रत्येक दिन सुत्नुभन्दा पहिले यो मास्कको प्रयोग गर्नुहोस् किनभने यस्तो गर्दा आँखामुनिको छाला निकै समयसम्म नरम भइरहन्छ ।
साथै अण्डाको बोक्राको पाउडरमा घ्युकुमारीको जेल मिसाउनुहोस् । यो मास्कलाई अनुहारमा लगाउनुहोस् र चिसो पानीले धुनुहोस् । हप्तामा २ पटक यो उपचारलाई अपनाउनुहोस् र चम्किलो, कोमल छाला पाउनुहोस् ।
अण्डाको बोक्रा एक प्राकृतिक पदार्थ हो जसले छालालाई भित्रैदेखि सफा गर्दछ र रोमछिद्रलाई खोल्दछ । अण्डाको बोक्राले रोमछिद्रमा जमेको फोहोर र धुलो सफा हुने गर्दछ जसका कारण रोमछिद्र बन्द हुन दिँदैन । अण्डाको बोक्राले बनेको मास्क तपाईंको छालाका लागि निकै फाइदाजनक हुन्छ ।