प्रचारमा कडाइपछि उम्मेदवार घरदैलो अभियानमा - Chaitanya News
  • 2026-04-25
  • 07:03:11
  • शनिबार,बैशाख १२, २०८३
  • प्रचारमा कडाइपछि उम्मेदवार घरदैलो अभियानमा

    प्रचारमा कडाइपछि उम्मेदवार घरदैलो अभियानमा

    पोखरा — अघिल्ला निर्वाचनमा मनोनयन दर्ता लगत्तैका र्‍याली, माइकिङ, आमसभा र भोजभतेरले चुनावी माहौल बनाउँथ्यो। तर यसपटक मतदानको १९ दिन अघिसम्म राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा गर्न नपाउने निर्वाचन आचारसंहितापछि रौनक खासै देखिएको छैन। निर्वाचन आयोगको निर्णयले राजनीतिक दल र उम्मेदवार प्रचार प्रसारमा खुम्चिनु परेको हो।

    उनीहरूले अहिले घरदैलो अभियान गरिरहेका छन। साथै प्रचारशैली बदल्दै सञ्चार प्रविधि केन्द्रित भएका छन्। विभिन्नि कोठे भेला, आन्तरिक तयारी र व्यवस्थापनमा लागेका छन्। निर्वाचन आचारसंहिताअनुसार कात्तिक १८ बाट मात्रै चुनावी सभा गर्न पाइनेछ। अहिले भने २५ जनासम्मको समुहमा मतदाताको घरदैलो कार्यक्रम भने गर्न सक्ने भएकाले सोही अनुसार दल र उम्मेदवार मतदाताकोमा पुग्न थालेका छन।

    पर्वतमा चुनावी गतिविधि उल्लेख्य मात्रामा देखिएको छैन। गत २३ कात्तिकमा उम्मेदवारी दर्ता गर्ने समय सदरमुकाम कुश्मामा गठबन्धन र एमालेका समर्थकको र्‍याली देखेका मतदाताले निर्वाचनको झल्को महसुस गरेका थिए । ‘ठाउँठाउँमा आमसभा, भोजभतेर हुन्थे । बाजागाजा, र्‍याली र नाराबाजी हुन्थे। चुनावको छुट्टै रौनक हुन्थ्यो,’ विगतका निर्वाचनको स्मरण गर्दै सदरमुकाम कुश्माकी शाबित्री थापाले भनिन्, ‘अहिले चुनाव आएको हो कि होइन अत्तोपत्तो छैन।’

    राजनीतिक दल र उम्मेदवारले प्रचारशैली बदलेका छन्। नाराबाजी, बिरोध र समर्थन, चुनावी सभामा सवारीसाधनको प्रयोग, शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायतलाई आचारसंहिताले रोक लगाएसंगै प्रचारको शैली बदलिएको छ। उम्मेदवारले प्रचारलाई सामाजिक सञ्चाल केन्द्रित गर्दै कोठे भेला, आन्तरिक तयारी, घरदैलो लगायतमा लागेका छन्। एमालेको चुनावी प्रचार अभियानका संयोजक एवं जिल्ला उपाध्यक्ष पदमपाणि शर्माले युग सुहाउँदो प्रचार अभियानको शैली अपनाइएको बताए। ‘अहिले प्रचार गर्ने भनेको प्रविधिमार्फत हो। युगसुहाउँदो शैली नअपनाए मतदाता आकर्षित गर्न सकिँदैन,’ उनले भने, ‘पहिलाजस्तो भाषण गरेर, एकअर्काको बिरोध गरेर कसैले मत दिनेवाला छैनन्। आफ्ना एजेन्डा मतदातालाई जानकारी गराउने हो।’

    उनका अनुसार प्रदेश र संघका उम्मेदवार घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन्। कांग्रेसका सहसचिव एवं प्रवक्ता अच्यूत तिवारीका अनुसार आचारसंहिता पालना मात्रै नभएर युवा मतदाताले अधिक प्रयोग गर्ने सामाजिक सञ्जालको प्रयोग गरेर प्रचारमा तीव्रता दिइएको छ। ‘गठबन्धन दलका छलफल, भेला र अन्तरक्रिया भइरहेका छन्,’ उनले भने, ‘मान्छे भेला पारेर भाषण गरेर मात्रै मत बढ्ने होइन।’ उम्मेदवारले व्यक्तिगत र आफ्ना दलका पालामा भएका विकासनिर्माणका गतिविधि सामाजिक सञ्जालमा पोस्ट गर्दै मतदाता प्रभावित पार्न लागिपरेका छन्।

    म्याग्दीमा पनि उम्मेदवार मतदाताको घरदैलो, भेटघाट र आर्थिक व्यवस्थापनको चाँजोपाँजो मिलाउन व्यस्त छन्। खुल्ला चुनावी कार्यक्रमभन्दा आर्थिक स्रोत जुटाउने, कार्यकर्ता परिचालन गर्ने रणनीति तयार पार्न कोठे बैठक, भेला तीव्र पारेका छन्। भौगोलिक विकटता र छरिएका बस्तीका कारण सबै मतदाता र बस्तीमा पुग्न कठिन हुँदाहुँदै पनि उम्मेदवार भ्याएसम्म घरदैलो गरिरहेका छन्। ‘कार्यकर्ता भेटघाट, परिचालन गर्ने, मतदाताको घरदैलोमा पुग्ने काममा छु,’ एमालेका प्रदेशसभा क्षेत्र नं. १ का देवेन्द्रबहादुर कटुवालले भने, ‘आचारसंहिताले प्रचार समयावधि घटाउँदा सबै मतदाताको दैलोमा पुग्न नसकिने रहेछ। प्रचारको तडकभडक रोकेर भने राम्रो गरेको छ।’

    म्याग्दीमा ४ सय ५ वटा मुख्य बस्ती छन्। मोटरबाटोको पहुँच नपुगेका छरिएका बस्तीमा पुग्न र स्तरीय सडक नहुँदा पैदल हिँडेर मतदाताको दैलोमा पुग्न समस्या भएको दलहरूले गुनासो गरेका छन्। प्रदेश सभातर्फका उम्मेदवारलाई सवै वडामा पुग्न सजिलो भए पनि प्रतिनिधिसभाका उम्मेदवारलाई भने १५ दिनमा सबै वडामा पुग्न नभ्याइने भएको छ। दलहरूले चुनाव प्रचार अवधि थोरै र बस्ती धेरै भएपछि तीनदेखि चार वटासम्म बस्ती भ्याउने गरी चुनावी कार्यक्रम बनाएका छन्। ‘कार्यकर्ता भेटघाट, भेला, बैठक र व्यवस्थापकीय काममै लागेको छु,’ प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार खमबहादुर गर्बुजाले भने, ‘ठूला कार्यक्रम बनाएको छैन। स–सानो संख्यामा दिनमा ३–४ वटा बस्तीमा पुग्ने गरी कार्यक्रम बनाएको छु। परम्परागत चुनावी प्रचारशैली फेरिएको छ।’

    गोरखामा उम्मेदवार आन्तरिक भेटघाटमा व्यस्त छन्। एमालेका उम्मेदवार कार्यकर्तासँग आन्तरिक भेटघाटमा छन् । कार्यकर्ता भेला र प्रशिक्षण भए पनि चोक र सहरमा कोणसभालगायत चुनावी गतिविधि सुरु भएको छैन। सत्ता गठबन्धनका उम्मेदवारले भने संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन्। गत २८ असोजमा माओवादी केन्द्रले कार्यकर्तालाई आन्तरिक प्रशिक्षण दियो। अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेता, कार्यकर्ताले कार्यकर्तालाई चुनावी एजेन्डा र रणनीतिबारे प्रशिक्षित गरेका हुन्। २९ असोजमा सत्ता गठवन्धनले संयुक्त कार्यकर्ता प्रशिक्षण तथा उम्मेदवार परिचय कार्यक्रम गरे।

    तनहुँमा उम्मेदवारहरू गाउँ छिर्न थालेका छन्। प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनबाट अलग्गिएर नेकपा एकीकृत समाजवादीले आफ्नै उम्मेदवार उठाएको छ। गठबन्धनमा कांग्रेस र माओवादी मात्र सहभागी छन्। उनीहरू आ–आफ्नो उम्मेदवार लिएर मतदातासँग भेटघाट सुरु गरेका छन्। अन्य राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार पनि यतिबेला मतदाताको घरदैलोमै व्यस्त छन्। सोमबार निर्वाचन क्षेत्र नं. १ को देवघाट गाउँपालिका र भानु नगरपालिका तथा क्षेत्र नं. २ को मादीखोला पारीको केही स्थानमा मतदातासँग भेटघाट कार्यक्रम गरेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए। सत्ता गठबन्धनबाट घरदैलो कार्यक्रममा तनहुँ–१ का उम्मेदवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, १ (१) का उम्मेदवार कांग्रेसका अशोककुमार श्रेष्ठ र १ (२) का उम्मेदवार माओवादीका हरिबहादुर चुमान लागिपरेका छन्।

    खनालले भने, ‘अहिले हामीले पालिकास्तरीय भेटघाट कार्यक्रमलाई अगाडि बढाएका छौं। अब एकदुई दिनमै वडास्तरीय भेटघाट कार्यक्रम अगाडि बढाउनेछौं।’ एउटा पार्टीको व्यानर र एकरएकवटा पार्टीको झन्डा लिएर जनतामाझ पुगेको उनी बताउँछन्। उनले थपे, ‘खाली हात जाँदा जनतालाई को आयो को गयो हुने भएको थियो । दुई दिनअघि निर्वाचन कार्यालयले एउटा पार्टीको झन्डा र एउटा ब्यानर लिएर हिँड्न अनुमति दिएपछि सोहीअनुसार घरदैलो गरिएको हो।’

    मतदाता भेटघाटको कार्यक्रम तीव्रताका साथ अगाडि बढाइएको एमालेबाट तनहुँ–१ मा उम्मेदवारी दिएका एकबहादुर रानाले बताए। घरदैलो गर्दा मत मात्र नमागी मतदाताको आशा, आकांक्षा पनि सुनेको र मतदाताले सोचेको विकासलाई पूर्णरूप दिने रानाले बताए । तनहुँ–१ का स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी पनि घरदैलोमा व्यस्त छन्। यता नेकपा एस भने प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनबाट बाहिरीएर आफ्नै उम्मेदवार उठाएर मत माग्न घरदैलो गरिरहेको जिल्ला अध्यक्ष श्रीराम कार्कीले बताए।

    बागलुङका उम्मेदवारहरू पनि घरदैलोमा छन। बागलुङ क्षेत्र नं. १ का सत्ता गठबन्धनका उमेदवार चित्रबहादुर केसी अहिले गाउँ पसिसकेका छैनन्। उनले पहिलो चरणमा सदरमुकाम आसपासमा घरदैलो र मतदाता भेट्न व्यस्त छन्। तिहारपछि मात्रै उनले गाउँ पस्ने संकेत गरे। प्रदेशसभा १ का दीपेन्द्रबहादुर थापा र २ का डिल्लीराम सुवेदीले पनि घरदैलो गरिरहेको बताए। सुवेदी दक्षिण बागलुङका केही गाउँमा पुगिसकेका छन् भने थापा सदरमुकाममै छन्।

    क्षेत्र नं.१ कै एमालेका उम्मेदवार सूर्य पाठक भने दक्षिण बागलुङमा पसेका छन। ‘शनिबारदेखिनै दक्षिण बागलुङका क्षेत्रमा प्रचारमा छौं,’ पाठकले भने, ‘केही स–साना सभा आयोजना गरेर चुनावको जानकारी दियौं, अब अन्य कार्यक्रम बनाउँदै छौं।’ उनले यसपटक आमसभा नभई फरक ढंगले लाग्ने बताए। आवश्यक सुझाव संकलनका लागि पनि लागेको उनको भनाइ छ।

    क्षेत्र नं. २ मा भने सत्ता गठबन्धन र एमाले उम्मेदवारहरू चुनावी सभासमेत गर्न थालेका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गलकोट क्षेत्रमा केही सभालाई सम्बोधनसमेत गरेका छन्। उनको क्षेत्रमा ४७ वटा वडा रहेकोले वडैपिच्छे कार्यक्रम गर्न नभ्याइने भएपछि केही बजार क्षेत्रमा आमसभा गर्ने र अन्यमा भेटघाटमा बढी केन्द्रित हुने योजना बनाएको बताए। एमालेकी उम्मेदवार मञ्जु शर्मा चालिसे पनि घरदैलोमै छिन्। यो पटक सार्वजनिक स्थानमा भाषण गरेरभन्दा जनतालाई भेट्ने गरी उनीहरू जुटेको देखिएको हो।

    अघिल्लापटकजस्तो उनीहरूले सामाजिक सञ्जारमा तस्बिर राखेर प्रचार पनि गरेका छैनन्। बरु खेतबारीमा काम गरेका किसानलाई नै भेट्ने र चुनावको जानकारी गराउने काममा लागेका हुन्। ‘ताराखोलाका किसानसँग मत माग्दै छु,’ चालिसेले भनिन्, ‘ठूलो समूह नबनाई स–सानो समूहमा मत माग्न हिँडेका छौं।’ उनले प्रचारको अन्तिमतिर केही आमसभा गर्नेबाहेक अरु समय घरघरमै पुगेर मत माग्ने बताइन्। हालै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने सामाजिक सञ्जालमा पनि मत मागेको छ। उनीहरूले पुराना राजनीतिक दलभन्दा फरक बनेर मत माग्ने बताए । घरटोलमा पुग्दा उनीहरूले पुराना दलको आलोचना गरेर मत मागेका छन्। ‘तिहारपछि प्रचारका काम बढी हुन्छन्, अहिले तयारी र योजना बनाउनमा व्यस्त छौं’ कांग्रेस सचिव हरिहर शर्माले भने, ‘गठबन्धनको आवश्यकताबारे सबैलाई सन्देश पुर्‍याउने लक्ष्य छ।’ एमाले जिल्ला अध्यक्ष हीराबहादुर खत्रीले प्रचारको शैली पुरानोभन्दा फरक बनाएको बताए।

    लमजुङमा राजनीतिक दलका उम्मेदवार, नेताहरू भेला, बैठक, छलफलमा जुटेका छन्। उनीहरूले यो समय दसैंतिहार, छठलगायत चाडपर्वको अवसरमा शुभकामना आदानप्रसाद साथै उम्मेदवार परिचय कार्यक्रम भन्दै गाउँगाउँमा औपचारिक कार्यक्रम गरी चुनाव प्रचारप्रसार गरिरहेका छन्। एमाले सचिव शुभास पौडेलले चुनावका औपचारिक कार्यक्रम कात्तिक १७ पछि हुने र अहिले भने नेताहरूले भेटघाट गरिरहेको बताए।

    ‘हामीले चुनावी आमसभाको आयोजना गरेका छैनौं। अहिले पार्टीका वडा तथा पालिकास्तरीय अनौपचारिक कार्यक्रममा हामी गइरहेका छौं’ उनले भने। प्रतिनिधिसभाको लागि एउटा मात्रै निर्वाचन रहेको लमजुङमा एमालेका उम्मेदवार पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ छन्। प्रदेशसभा ‘१’ मा जमीन्द्रमान घले र ‘२’ मा कृष्णप्रसाद अधिकारी छन् । उनीहरूले घरदैलो अभियान पनि थालेका छन्।

    सत्ता गठबन्धनले छुट्टाछुट्टै तथा सँगसँगै कार्यक्रम गरिरहेका छन्। उनीहरूले गठबन्धनका तर्फबाट नागरिकलाई अपिल, पत्रकार भेटघाट, शुभकामना आदानप्रसाद, भेला, बैठक, छलफललगायत गरेका छन्। सत्ता गठबन्धनका शिक्षक संगठन, विभिन्न जातीय संगठनहरूले पनि उम्मेदवार बोलाएर चुनाव प्रचारप्रसार गरिरहेका छन्। उनीहरूले घरदैलो अभियान पनि थालेका छन्।

    कांग्रेस सचिव कृष्णबहादुर अधिकारीले गठबन्धनका तर्फबाट उम्मेदवारले घरदैलो, भेला, बैठक, छलफललगायत गरिरहेको बताए। माओवादी केन्द्रका कार्यालय सचिव हरिजंग तामाङले चुनाव प्रचारप्रसारका कार्यक्रम सुरु भएको बताए। उनले घरदैलो, भेला, बैठक, छलफललगायत कार्यक्रम भइरहेको बताए।

    सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, प्रदेश सभा ‘१’ मा कांग्रेसका टकराज गुरुङ र ‘२’ मा कांग्रेसकै भेषबहादुर पौडेल उम्मेदवार छन्। यस्तै, राप्रपा, जसपा, बीपी कांग्रेस, स्वतन्त्रलगायतका नेता तथा उम्मेदवारले पनि आ–आफ्नो प्रचारप्रसार थालेका छन्।