कर्णाली राजमार्ग अवरुद्ध हुँदा, जुम्लामा ग्यास र पेट्रोलियम पदार्थको अभाव - Chaitanya News
  • 2026-04-23
  • 16:05:31
  • बिहिबार,बैशाख १०, २०८३
  • कर्णाली राजमार्ग अवरुद्ध हुँदा, जुम्लामा ग्यास र पेट्रोलियम पदार्थको अभाव

    कर्णाली राजमार्ग अवरुद्ध हुँदा, जुम्लामा ग्यास र पेट्रोलियम पदार्थको अभाव

    जुम्ला– अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ। बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रामा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ।

    कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताए। बजार अनुगमनका क्रममा जिल्ला सदरमुकाममा पेट्रोलियम पदार्थको अभाव भएको पाइएको छ।

    महिनौँ दिनसम्म कर्णाली राजमार्ग नखुल्ने हल्ला चलेका हुनाले बजारमा कालोबजारी भएको जनगुनासो आएपछि चन्दननाथ नगरपालिका जुम्लाका उपप्रमुख रामदेवी खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रिजालको अगुवाइमा बजार अनुगमन गरिएको हो। खाद्यान्न र पेट्रोलियम पदार्थ बेच्ने पसलको अनुगमन गरिएको छ। अनुगमनका क्रममा झण्डै दुई महिना पुग्ने खाद्यान्न र खाने तेल बजारमा मौज्दात रहेको सहायक प्रजिअ रिजालले बताए।

    दशवटै पसलको अनुगमन गर्दा पेट्रोलियम पदार्थबाहेक दैनिक उपभोग्य वस्तुमा समस्या नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। छिटोभन्दा छिटो अवरुद्ध राजमार्ग खुलाउनका लागिपरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।