आँखा स्वस्थ राख्न के गर्ने? - Chaitanya News
  • 2026-05-03
  • 20:40:49
  • आइतबार,बैशाख २०, २०८३
  • आँखा शरीरको सबैभन्दा संवेदनशील अंग हो। सानो गल्तीले गर्दा आँखामा ठूला समस्या आउन सक्छ। आँखालाई स्वस्थ नराख्दा चिलाउने, इन्फेक्सन हुनेजस्ता रोग देखा पर्छन्। कतिपयले आँखा कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ ध्यान दिन सकिरहेका हुँदैनन्। धुवाँ तथा धुलोले आँखालाई प्रत्यक्ष रूपमा असर गरिरहेको हुन्छ।

    त्यस्तै, कम्प्युटर, ल्यापटप, टिभी, मोबाइल लामो समय हेर्दा आँखामा समस्या देखिन थालेको छ। बच्चादेखि बूढाबूढीमा टिकटक, युट्युब, भिडियो गेम खेल्ने लत बसेको छ। त्यसैले धेरैलाई कम्प्युटर भिजन सिम्ड्रम हुने गरेको छ। जसले गर्दा आखाँ सुक्खा हुने गर्छ। सुक्खा हुनु भनेको आँखामा आँसुको मात्रा कम हुनु हो। सुक्खा भएपछि आँखा पोल्ने, बिझाउने, आँखामा फोहोर पसेजस्तो महसुस हुन्छ। यस्तो वेला आँखालाई पानीले पखाल्नुहुँदैन।

    आँखा सुक्खा हुँदा के गर्ने?

    आँखा धेरै सुक्खा भयो भने चिकित्सकसँग परामर्श लिनुपर्छ । सुक्खा हुने, आँखाको आयल क्याप वा ग्रन्थि ब्लक हुने समस्या कम गर्न आई मसाज पनि गर्न सकिन्छ। आई ड्रप पनि प्रयोग गर्न सकिन्छ । कतिपयको आँखामा पानी छ्याप्ने बानी हुन्छ। त्यसो गर्नुहुँदैन। त्यसले आँखामा भएको आँसु पनि बगाएर लैजान्छ। जसले गर्दा आँखा झन् सुक्खा बनाउँछ। लगातार कम्प्युटर तथा ल्यापटपमा काम गर्नुहुन्छ भने आइड्रप प्रयोग गर्दा हुन्छ। मोबाइल तथा स्क्रिनको असरलाई कम गर्न ब्लु कट लेन्स पनि प्रयोग गर्न सकिन्छ। स्क्रिनमा धेरै समय बिताउने बालबालिकाको आँखाको पावर घट्दै जान्छ। ब्लु कट चस्माको प्रयोग गर्‍यो भने समस्या कम हुँदै जान्छ ।

    तपाईं टिभी वा ग्याजेटअगाडि बस्नुहुन्छ वा कार्यालयको काम गर्नुहुन्छ भने समय–समयमा ब्रेक लिनुपर्छ। २० मिनेट स्क्रिनमा हेरेपछि २० सेकेन्डसम्म २० फिट टाढा हेर्नुपर्छ । ५ वर्ष पुगेपछि एकपटक बच्चाको अनिवार्य आँखा चेकचाँज गर्नुपर्छ।

    आँखाको सुरक्षा:
    ( बिहान र बेलुका कम्तीमा दुईपटक सफा पानीले आँखा पखाल्नुपर्छ। सामान्यतः आँसुले आँखाबाट धुलोका कण निकाल्न सहयोग गर्छ।

    – घरबाट बाहिर निस्कँदा आँखामा चस्मा प्रयोग गर्नुपर्छ । बाइक, स्कुटरमा चढ्दा हेल्मेटको भाइजर वा चस्मा प्रयोग गर्नुपर्छ । जसले गर्दा आँखामा धुलो पर्नबाट बचाउँछ।

    – सडकको धुलो, गाडीबाट निस्कने धुलो–धुवाँका कारण आँखामा इन्फेक्सन हुनुका साथै आँखा चिलाउन सक्छ । यस्तो वेलामा हातले आँखामा छुनुहुँदैन। सकेसम्म सफा पानीले हात र त्यसपछि आँखा सफा गर्नुपर्छ।

    – आँखामा धुलो पर्‍यो भने मिच्नुहुँदैन । आँखा मिच्दा आँखामा धुलोको कण रगडिने हुँदा रातो हुन्छ । रातो भाग बढ्दै जाँदा यसले दृष्टिविहीन बनाउने जोखिम हुन्छ । अधिकांश आँखामा समस्या भएपछि मात्रै समाधानतर्फ लाग्छन् । आँखालाई स्वस्थ राख्न वेला–वेलामा चिकित्सकसँग जाँच गराउनुपर्छ ।

    यस्तो खानपान:

    – आँखाका लागि भिटामिन ‘ए’ आवश्यक पर्छ। गाँजरमा भिटामिन ए र बिटाक्यानिन पाइन्छ । भिटामिन एले रोडोप्सिन नामक प्रोटिन बनाउँछ। जसले आँखाको रेटिना स्वस्थ राख्न मद्दत गर्छ। बालबालिकाले हरियो सागपात खाँदा भिटामिन ‘ए’को मात्रा बढाउन सहयोग गर्छ। हरियो तरकारी, पहेँलो फलफूल, माछाजस्ता खानेकुरा खाँदा राम्रो हुन्छ। फलफूलका बिउ आँखाका लागि स्वस्थकर हुन्छन्। स्याउ, फर्सी, सुन्तला र साल्भियालगायत फलफूलका बिउ बढी स्वस्थकर मानिन्छ। अमिला फलफूलमा भिटामिन सी पाइन्छ । सुन्तला, अंगुर र कागतीलगायतले उमेरसँगै आँखामा बढ्दै जाने समस्याबाट टाढा रहन सहयोग गर्छ। हरिया सागसब्जी पालुंगो, रायो, कोभी र बन्दाकोभीलगायत सागपातमा जेकज्यान्थिन र लुटेइनजस्ता पौष्टिक तत्व पाइन्छ। जसले आँखाको दृष्टि तेजिलो मद्दत गर्छ।

    – आलुमा बिटाक्यारोटिन, एन्टिअक्सिडेन्ट र भिटामिन ई पाइने भएकाले दृष्टिका लागि राम्रो मानिन्छ। अन्डा भिटामिन सी र ईको राम्रो स्रोत मानिन्छ। यसले आँखामा आउने कमजोरी न्यूनीकरण गर्न सहयोग गर्छ। खानपानसँगै नियमित व्यायामसमेत गर्नु राम्रो हुन्छ।