काठमाडौं– हिजाब नलगाई एसियाली क्लाइम्बिङ प्रतियोगितामा भाग लिएकी इरानकी महिला एथलीट एलनाज रेकाबी बेपत्ता भएकी छिन्। एलनाज सोमबार रातिदेखि आफ्ना साथीहरूसँग सम्पर्कमा नरहेको पाइएको छ।
एलनाज एसियाली क्लाइमबिङ प्रतियोगितामा भाग लिन दक्षिण कोरियाको राजधानी सियोल पुगेकी थिइन्। प्रतियोगिता अक्टोबर १६ मा भएको थियो। एलनाज इरानको प्रतिनिधित्व गर्दै थिइन्। खेलकुद प्रतियोगितामा पनि इरानी महिलाहरूलाई हिजाब अनिवार्य छ। तर इरानमा विगत एक महिनादेखि हिजाबको विरोधमा मानिसहरूले प्रदर्शन गर्दै आएका छन्।
बीबीसी फारसीले इरानको टोली बसेको सियोलको होटलमा पनि सम्पर्क गर्यो तर टोलीका सबै सदस्य सोमबार बिहानै होटलबाट निस्किएको बताइएको छ। रेकाबीको राहदानी र मोबाइल फोन जफत गरिएको एक स्रोतले बताएको छ। योजना अनुसार इरानको टोली बुधबार स्वदेश फर्किने छ।