काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले देशमा जे भईरहेको छ, अपजस जति सबै कांग्रेसलाई आएको बताएका छन। आज (आईतबार) केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले कांग्रेसले इतिहासमा फेरि एक पटक गम्भीर भएर देशलाई सही दिशामा अघि बढाउन सक्नुपर्ने समेत बताए।
नेता घिमिरेले समाजलाई सही दिशातर्फ डोर्याउने काम पनि नेपाली कांग्रेसकै काँधमा रहेको बताए।
अहिले जताततै आम मान्छे निराश छ, कतै कोही उत्साहित छैन। किन यस्तो भइरहेको छ? यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,’ उनले अघि भने, ‘नेगेटिभ एटिच्युड जुन चरम विन्दुमा पुगेको छ, यसलाई हामीले कसरी सकारात्मक बनाएर लैजाने? कसरी आशा जगाउने भनेर गम्भीर हुनुपर्ने बेला आएको छ।
उनले देशमा भएजत्ति सबै नराम्रो कामको अपजस कांग्रेसले लिनुपर्ने अवस्था रहेको बताए। ‘जता पनि, जसले पनि कांग्रेसलाई गाली नै गरिरहेको देखिन्छ। हुन पनि आम मान्छेको जीवन समस्यै समस्यामा छ। समाज बेरोजगारी छ, पारिवारिक विचलन छ। देशमा राजस्व संकलन बढेको छैन। काम गर्ने जनशक्ति विदेश पलायन भइरहेको छ,’ उनले भने, ‘देशमा जे भइरहेको छ, त्यसको अपजस जत्ति सबै कांग्रेसलाई आइपरेको छ। मानौं कि कांग्रेसबाहेक अरु सबैले ठीकठाक गरिरहेका छन्।
उनले आगामी महासमिति बैठकमा सबै समस्याहरूको समाधानको बाटो खोजी गर्नुपर्ने बताए।