काठमाडौँ– तीन दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासङ्घले वार्ता समिति गठन नगर्दा सरकार र महासंघबीचको औपचारिक वार्तामा ढिलाइ भएको छ।
हिजो (बिहीबार) साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा ५ मन्त्रीसहित शिक्षक प्रतिनिधिसँग छलफल भएको थियो। छलफलले औपचारिक वार्ताका लागि पत्राचार गर्दै शुक्रबार बिहान पुनः वार्तामा बस्ने समझदारी गरेको थियो। तर शिक्षक महासङ्घले समिति गठन नगर्दा वार्ता सुरु हुन नसकेको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले आन्दोलन परिचालन समितिको बैठक बसेर वार्ता कमिटी बनाउने तयारी भइरहेको जानकारी दिए।
महासङ्घले सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता समिति बनाएको छ। सरकारले भने गृहमन्त्रीको नेतृत्वमा वार्ता हुने जनाएको छ। सरकारी वार्ता समितिमा शिक्षामन्त्री अशोक राई, शिक्षा सचिव सुरेश अधिकारी सहित कानुन र अर्थ सचिव सदस्य रहने बताइएको छ।
शुक्रबारको छलफलमा अर्थमन्त्री प्रकाशशरण महत, शिक्षामन्त्री अशोक राई, कानुनमन्त्री धनराज गुरुङ, सूचना प्रविधिमन्त्री रेखा शर्मा र ती मन्त्रालयका सचिवहरू सहभागी थिए। शिक्षकको तर्फबाट महासङ्घ अध्यक्ष कमला तुलाधर, आन्दोलन संयोजक पराजुली र काँग्रेस, एमाले, माओवादी निकट शिक्षक सङ्गठनका अध्यक्ष सहभागी थिए।