काठमाडौं– नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा नयाँ दिल्ली जाने भएका छन। यही असोज ८ देखि १० गतेसम्म सञ्चालन हुने तेह्रौं संस्करणको इन्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन सेनापति शर्मा असोज ७ गते आइतबार भारत प्रस्थान गर्ने कार्यक्रम छ।
भ्रमण दलमा ४७ औं इन्डो–प्यासिफिक आर्मिज म्यानेजमेन्ट सेमिनारमा उपरथी योगराज शर्मा र महासेनानी वसन्त बहादुर गौतम तथा ९ औं वरिष्ठ सूचीबद्ध नेता फोरममा सहभागी हुनुहुने सेना प्रमुख सुबेदार रत्नबहादुर थापा मगर पनि रहनुहुनेछ।
गत भदौ २३ गते नेपाल सरकारको निर्णय बमोजिम नियमित रुपमा सञ्चालन हुुँदै अएको सम्मेलनमा प्रधान सेनापति सहभागी हुन लाग्नुभएको हो।
भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरुको सह–आयोजनामा सम्मेलनको आयोजना गरिएको हो। सम्मेलनमा सहभागी भई प्रधान सेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ।
सम्मेलनमा सहभागिताबाट मित्रराष्ट्रहरुका सैन्य सङ्गठनहरुका बीच समुधुर सम्बन्ध विकासमा थप मद्दत पुग्ने एवम् मानवीय सुरक्षाका साझा चासोका विषयमा ज्ञान र अनुभवको आदानप्रदानका लागि उपयुक्त अवसर प्राप्त हुने विश्वास नेपाली सेनाले लिएको छ।