बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल - Chaitanya News
  • 2026-11-19
  • 07:02:10
  • बिहिबार,मंसिर ०४, २०८३
  • बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल

    बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल

    काठमाडौँ– बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ। विद्यालय शिक्षा विधेयकको विरोधमा आज (बिहीबार) पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन्। उनीहरुले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गरेका हुन्। प्रदर्शनमा देशभरका शिक्षकहरू सहभागी छन्।

    नेपाल शिक्षक महासङ्घको अगुवाइमा भएको आन्दोलनका कारण आज बानेश्वर क्षेत्र अस्तव्यस्त भएको छ। प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ।

    प्रदर्शनमा सहभागी शिक्षकहरुले महासंघले उठाएको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने भन्दै नारबाजी गरेका छन्।

    महासंघले संसदमा दर्ता भएको शिक्षा विधेयकमा विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ। जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्।

    बुधवारबाट सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने महासंघले जनाएको छ। शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै देशभरका सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ।