काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी एकदिवसीय विश्वकप क्रिकेटका लागि तयार पारिएको आधिकारिक ‘विश्वकप गीत’ सार्वजनिक गरेको छ। आईसीसीले आफ्नो ट्वीटरमार्फत ‘विश्वकप गीत’ को भिडियो सार्वजनिक गरेको हो।
‘विश्वकप गीत’ को भिडियोमा बलिउड नायक रणवीर सिंह मुख्य भूमिकामा देखिएका छन्। रणवीर सिंहसँगै धनाश्री वर्मा र गौरव तनेजा पनि ‘विश्वकप गीत’ को भिडियोमा देखिएका छन्। धनाश्री वर्मा चर्चित भारतीय क्रिकेट युजवेन्द्र चाहलकी पत्नी हुन्।
यसैगरी गौरव तनेजा चर्चित यूट्यूबर हुन् । ‘दील जस्न बोले’ नामको उक्त ‘विश्वकप गीत’ को कम्पोज प्रितमले गरेका हुन्। ‘विश्वकप गीत’ मा प्रितम, नकास अजिज, श्रीरामा चन्द्रा, अमित मिश्रा, जोनिता गान्धि, अकासा र चरणले आफ्नो श्वर दिएका छन्।
आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ। विश्वकपका खेलहरू विभिन्न १० वटा रंगशालामा खेलाइने छ। प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता इङ्ल्याण्ड र साबिक उपविजेता न्युजिल्याण्ड बीच खेलिने छ।