साफ यू– १९ च्याम्पियनसिपको तयारी पूरा - Chaitanya News
  • 2026-06-07
  • 03:38:49
  • शनिबार,जेठ २३, २०८३
  • साफ यू– १९ च्याम्पियनसिपको तयारी पूरा

    साफ यू– १९ च्याम्पियनसिपको तयारी पूरा

    काठमाडौं– बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने साफ यू–१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ।

    अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो।

    एन्फा प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको तयारी पूरा भएको र सहभागी टिमहरु आउन क्रममा रहेको बताए। भुटान र बंगलादेशको टिम आइसकेको छ भने भारत र माल्दिभ्सको टोली आज मंगलबार आउनेछन्। पाकिस्तान भने भोलि बुधबार आइपुग्ने एन्फाले जनाएको छ।

    साउथ एसियन फुटबल फेडेरेसन ९साफ० को कार्यक्रम अन्तर्गत हुने च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

    आयोजक नेपाल, पाकिस्तान र माल्दिभ्स समूह ए छन् भने साविक विजेता भारत, साविक उपविजेता बंगलादेश र भुटान समूह बी मा छन्। दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन्।

    गत वर्ष भारतको भुवनेश्वरमा भएको च्याम्पियनसिपमा पाकिस्तान र भुटान बाहेक ५ टिम सहभागी थिए र सिंगल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा भएको थियो।

    यस पटक पाकिस्तान र भुटान च्याम्पियनसिपमा सहभागी छन् भने श्रीलंका सहभागी छैन।

    च्याम्पियनसिपको यो पाँचौ संस्करण हो। सन् २०१५ मा नेपालबाटै सुरु भएको यस च्याम्पियनसिपमा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन्।

    नेपालले तेस्रो पटक साफ यू–१९ च्याम्पियनसिप आयोजना गर्न लागेको हो। २०१९ मा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

    जियारथ शेखको कप्तानीमा रहेको नेपाली टोलीले यस पटक घरेलु मैदान उपाधि जित्दै विगतको प्रदर्शनलाई दोहोर्‍याउने लक्ष्य राखेको छ।

    प्रतियोगिताका निर्देशक सञ्जिव मिश्रले प्रतियोगिताको सफल आयोजना गर्दै कम्तीमा फाइनलसँग पुग्ने लक्ष्य रहेको बताए।

    प्रतियोगिताको लागि भीआईपी प्यारापिटतर्फ ३०० र साधारण प्यारापिटतर्फ २०० टिकट मूल्य राखिएको छ।

    खेलहरु स्पोर्ट्जवर्कजको युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुने छ।

    सहभागी टोलीको लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित च्यासल खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ।

    च्याम्पियनसिपको बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रहेको एन्फाले जनाएको छ।