ईएफए च्याम्पियन्स लिगको नयाँ सिजन आजदेखि सुरु, मेसी र रोनाल्डो लिगमा नहुँने - Chaitanya News
  • 2026-06-07
  • 03:37:55
  • शनिबार,जेठ २३, २०८३
  • ईएफए च्याम्पियन्स लिगको नयाँ सिजन आजदेखि सुरु, मेसी र रोनाल्डो लिगमा नहुँने

    ईएफए च्याम्पियन्स लिगको नयाँ सिजन आजदेखि सुरु, मेसी र रोनाल्डो लिगमा नहुँने

    काठमाडौं– युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन आज मंगलबारदेखि सुरु हुँदैछ।

    तर पछिल्लो दशक विश्व फुटबलमा राज गरेका दुई सुपर स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो यस पटक च्याम्पियन्स लिगमा हुने छैनन्।

    गतसिजन पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको म्यानचेष्टर सिटीसहित इंग्लिस प्रिमियर लिग खेल्ने आर्सनल, म्यानचेष्टर युनाइटेड र न्युकासलले यस सिजन च्याम्पियन्स लिग खेल्दैछन्।

    न्युकासल २० वर्षपछि च्याम्पियन्स लिगमा छनोट भएको हो । म्यानचेष्टर सिटी उपाधि रक्षा गर्ने अभियानमा छ।

    च्याम्पियन्स लिगको कुन समूह कठिन?

    न्युकासल रहेको समूह एफ ग्रुप अफ द डेथको रुपमा छ। यस समूहमा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन ९पीएसजी०, इटालियन महारथी एसी मिलान र च्याम्पियन्स लिगका पूर्व विजेता बोरुसिया डर्टमण्ड छन्।

    साविक विजेता सिटीका लागि भने समूह चरण केही सहज देखिएको छ। सिटीले समूह जी मा आरबी लाइपजिग, रेड स्टार बेलग्रेड र योङ ब्वाइजसँग खेल्नेछ।

    समूह ए मा रहेको युनाइटेडले जर्मन च्याम्पियन बायर्न म्युनिखसँगै एफसी कोपनहेगन र गालातासारेसँग खेल्नेछ।

    आर्सनलले युरोपा लिग विजेता सेभियासहित पीएसभी आइन्डहोभन र लेन्ससँग समूह चरणमा खेल्नेछ।

    यस्तै स्कटिस क्लब सेल्टिकले समूह इ मा एट्लेटिको मड्रिड, फेयेनुर्ड र लाजियोसँग खेल्नेछ।

     

    पछिल्लो समय विश्व फुटबलमा राज गरेका दुई सुपर स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो यस सिजनको च्याम्पियन्स लिगमा देखिने छैनन्।

    पछिल्लो समय चर्चामा रहेको साउदी अरेबियाको लिगमा जाने रोनाल्डो पहिलो स्टार हुन्। उनले अल नासेरका लागि खेल्दै आएका छन्।

    मेसी भने यसै सिजन अमेरिकन क्लब इन्टर मियामी गए।

    यति मात्रै होइन। ब्राजिलिनय फरवार्ड नेमार र फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा पनि रोनाल्डो रहेको साउदी लिगमै लागे। नेमारले अल हिलाल र बेन्जेमाले अल इत्तेहादसँग खेल्दैछन्।

    यद्यपि अझै पनि वर्तमान समय र भविष्यका समेत स्टारका रुपमा रहेका फ्रेन्च स्ट्राइकर केलिएन एमबाप्पे च्याम्पियन्स लिगमा हुनेछन। उनले पीएसजीबाट खेल्नेछन्। यस्तै सिजनका गोल मेसिन एर्लिङ हालान्ड अझ धेरै कीर्तिमान तोड्ने लाइनमा छन्।

    बार्सिलोनाका युवा स्टार लामिन यामाल हेर्न लायक खेलाडीको रुपमा छन्। १६ वर्षीय यामाल बार्सिलोनाको सबैभन्दा युवा खेलाडी बन्नुका साथै स्पेनका लागि पनि डेब्यु गर्ने र गोल गर्ने सबैभन्दा युवा खेलाडी बने।

    उपाधि दाबेदार टिम को हो?

    साविक विजेता सिटी च्याम्पियन्स लिगको उपाधि जित्न सबैभन्दा दाबेदार टिमको रुपमा छ। ग्रेसनोटको युरो क्लब इन्डेक्स अनुसार स्पानिस रियल मड्रिड र जर्मन बायर्न भन्दा सिटी नै बढी दाबेदार देखिएको छ।

    सिटीको उपाधि जित्ने सम्भावना ३७ प्रतिशत छ भने रियलको १३ प्रतिशत र बायर्नको ११ प्रतिशत छ। यस्तै १९ प्रतिशत सम्भावना अन्य क्लबले जित्ने सम्भावना छ।

    सिटी, रियल र बायर्नसँगै बार्सिलोना नकआउट चरणमा पुग्ने कम्तीमा पनि ९० प्रतिशत सम्भावना छ।

    च्याम्पियन्स लिग फर्म्याट कहिले परिवर्तन हुन्छ?

    अहिले भइरहेको ३२ क्लब समावेश च्याम्पियन्स लिगको यो अन्तिम सिजन हुनेछ। जहाँ चार टिमको ८ समूह छ। हरेक समूहका शीर्ष दुई टोली अन्तिम १६ मा पुग्नेछन्।

    २०२४–२५ को सिजनबाट भने च्याम्पियन्स लिगमा केही परिवर्तन हुनेछ। नयाँ फर्म्याटमा ३६ क्लबले सहभागिता जनाउनेछन्।

    थप ४ मध्ये २ स्थान अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्ने देशको क्लबलाई दिइनेछ।