तीजमा फेरिँदो समाज - Chaitanya News
  • 2026-11-19
  • 06:29:42
  • बिहिबार,मंसिर ०४, २०८३
  • हाम्रो देशमा अधिकांश मानिस हिन्दू धर्मावलम्बी भएकाले चाडपर्व नजिकिनेबित्तिकै हामीहरू एकदम खुसी हुने गर्छौं । प्रत्येक चाडपर्वले नेपालीको जीवनमा नयाँ उमङ्ग र प्रेरणा ल्याउने गर्छ, त्यसमाथि नारीहरूको जीवनमा तीजको विशेष महत्व रहेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीज पर्ने गर्छ । अटल सौभाग्यको कामना गर्दै हिन्दू नारीहरूले स्नान गरी व्रत बस्ने, भगवान् शिवको पूजा–अर्चना गरी विवाहित महिलाले पतिको लामो आयुको कामना गर्दै निराहार व्रत बसेर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्रो गरेर मात्र व्रत पूरा गर्ने परम्परा रहेको छ । तीजको दिन रातो पहिरनमा सुन्दर गहनाले सिँगारिएका नारीहरू टोल–छिमेकमा रहेका शिवमन्दिरमा गएर शिव–पार्वतीको पूजा–आराधना गर्दै नाचगान गरी मनको वह पोख्ने गर्छन् ।

    आजभोलि महिना दिनअघिदेखि महिलाहरू आफन्तजन, साथीहरूकोमा रातो सारी र सोह्र शृंगार गरी दर खान जाने, नाचगान गर्ने चलन छ । यसरी निराहार बसी शिव–पार्वतीको पूजा–आराधना गर्नाले विवाहित महिलाको सौभाग्य वृद्धि हुने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास रहेको छ ।

    पहिले र अहिलेको तिजमा भिन्नता तीजलाई महिलाहरूको उन्मुक्तिका रूपमा मनाइने पर्व मानिन्छ । समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन देखा परेको छ । हिजोआज तीज गीत निकै भड्किला हुन थालेको भन्दै सरोकारहरूको चिन्ता बढ्न थालेको छ ।

    महिलाहरूका वेदना गीतमार्फत साटासाट गर्ने परम्परा अहिले केही परिवर्तन हुँदै गएको छ । परापूर्वकालमा तीजको समयमा बुहारीलाई सासू, नन्द, आमाजू आदिले गर्ने व्यवहार नै गीतमार्फत् व्यक्त हुन्थे । अहिलेको आधुनिक समयजस्तो विद्युतीय उपकरण, मल्टिमिडिया नभएको अवस्थामा तीजको व्रत बस्ने दिन गाउँघरका महिलाहरू जम्मा भएर गीत गाउँथे । पहिले तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, घरमा बुहारीहरूप्रति गरिने व्यवहार, कचकच, दुःख, ईर्ष्याजस्ता विषयमा गीत तयार पारिन्थे । अहिलेको समयमा फरक शैलीमा तीज गीत तयार हुन थालेको छ। समयको परिवर्तनसँगै नारीहरू पनि स्वतन्त्र हुन थालेपछि नारीका वेदना, पीडाका गीत पनि सुनिन छाडेको छ ।

    परापूर्वकालमा सानो उमेरमा विवाह गरेर पराइघरमा जाने र वर्ष दिनको तीजमा मात्र माइत आएर पीडा सुनाउने अवस्था अहिले छैन, त्यसैले पनि गीत–संगीतमा पनि परिवर्तन हुँदै गएको छ ।’ आधुनिकताले गीत–संगीतलाई पनि आधुनिकतातर्फ नै डो¥याउन थालेको छ। पहिले खासगरी छोरीहरू मागी विवाह गरेर बाबु आमासंगबाट टाढा हुन्थ्ये। घरायसी काम र कृषि कर्ममा व्यस्त रहँदा बाबु आमा र छोरीको भेटघाट सितिमिती हुँदैनथ्यो। सम्भवत दाजु– भाइ, दिदी– बहिनी अनि बुबा–आमा लगाएत परिवारका अन्य सदस्यसंग विवाह गरेर गएकी चेलीको भेटघाटको साइत जुराउन यो पर्व मनाउन थालिएको होला। समाजशास्त्री दृष्टिकोणबाट यसो भन्न सकिन्छ तर हाम्रो धार्मिक मान्यता भने अलग छ। मैले पहिले देखेको तिज छोरा छोरीको स्याहार सुसार गर्ने, सासु–ससुरा अनि परिवारका अन्य सदस्यको पनि सेवा सुश्रुषा गर्ने, नन्द आमाजुका अनगिन्ती अह्रोटको पालना गर्ने कामका अतिरिक्त असारमा खेत रोप्ने, केही दिन पछि गोड्ने, कोदो रोप्ने, घैया काट्ने, मास गोड्ने आदि काम सकेर थोरै समय फुर्सद निकालेर तीजको अघिल्लो दिन चेली माइत आउँथी, दाजु वा भाइको साथमा ।

    सासुसंगबाट बढीमा पञ्चमीको भोली पल्टसम्मको छुट्टी पाएकी हुन्थी । आमा, बुबा, दिदी ,बहिनी, दाजु, भाइ लगाएत माइती तिरका साथी संगीसंग भेटघाट र भलाकुसारी गर्ने अवसर वर्षमा यही ४ दिन आउँथ्यो, उसलाई । आफ्ना दामली भेट्थी, बाल्यकालका सुखद क्षणहरूको स्मरण गरेर रमाउँथी। यही समयमा सासुका कहर, नन्द– अमाजुका यातना, लोग्नेको खप्की आदि सबैको व्यथा पोख्न पाउँथी उसले। उम्मुक्त भएर, स्वच्छद भएर आफुले भोग्नु परेका पिडा कहन पाउने अवसर हुन्थ्यो, तीज उसका लागि । माइतीको मायाका कुरा गर्थी, बालापनका कुरा गर्थी, र त्यही अवसरको सदुपयोग गर्दै आफ्ना व्याथाहरूलाई गीतको माध्यमबाट प्रकट गर्थी । सधैं शिरमा हुने सारीको सप्को कम्मरमा वाँधेर, हिँड्दा पनि कसैले पदचाप सुन्लाकी भनेर सावधानी पूर्वक हिड्नु पर्ने उ छमछकी नाच्थी र वर्ष भरिका पिडा भुल्थी अनि थकान मेट्थी । पर्सिपल्ट सप्तर्षीको पूजा गरेपछि तीज सकिन्थ्यो अनि घर फर्किन्थी । तर अहिलेको तीज। छोरी बिहे गरेर जहाँ पुगेकी भए पनि बाबु आमा र अन्य आफन्तसँग भेट्न अर्को तीज कुर्नु पर्ने अवस्था छैन।

    सूचना र सञ्चार प्रविधिको विकासले छिन्छिनमा परिवारका सदस्यहरुसंग प्रत्यक्ष कुराकानी गर्न सकिने भएको छ। भिडियो कल मार्फत् देखादेख पनि गर्न सकिन्छ। अझै अत्यास लागे यातायातका साधन छँदैछन् । तिनले केही घण्टामै माइती घर पु¥याइदिन्छ। अब पहिला जस्तो सामूहिक परिवारको चलन पनि कमै छ । त्यसैले नन्द–अमाजुको चित्त बुझाउनु पर्ने अवस्था पनि रहेन अनि अहिलेका सासु–बुहारी, नन्द–भाउजु तथा अमाजु–बुहारीबीचको सम्बन्ध पहिले जस्तो तिक्ततापूर्ण हुन छाडेको छ । सासुले बुहारीलाई छोरी र नन्द– आमजुले दिदी–बहिनी सरह व्यवहार गर्न सुरु भैसकेको छ । बाल्यकालका दामली भेट्न र सुख–दुःख साट्न अनि बाल्यकालका स्मरणहरु ताजा बनाउनु पनि अब माइती घर वा गाउँ नै आउनुपर्ने अवस्था छैन । कृषि अब जीवन निर्वाहको स्तरमा छैन । खेती प्रणालीमा सहजता आएको छ । त्यसैले खेतीपातीमा व्यस्त रहने अवस्था पनि रहेन ।

    सारीको सप्को शिरमा राखिरहन परेन अनि हिँड्दा कसैले पदचाप सुन्छ कि भनेर सतर्क रहनु पर्ने अवस्था पनि अहिले छैन । त्यसैले पहिलेको तीज र अहिलेको तीजमा धेरैभिन्नता आएको छ । पहिले सासु–बुहारी सम्बन्धका उतार चढाव, बालापन, नन्द–अमाजुका खटनपटन, लोग्नेको खप्की आदिका गीत गाइरहनु पर्ने अवस्था पनि अहिले छैन । अनि तीजमा गाउने गीतको विषय परिवर्तन भएको छ । अहिले तिजलाई महिला सशक्तीकरणको अवसरका रूपमा ग्रहण गरेर महिलामाथिको लैंगिक विभेद, दुव्र्यवहार, सदियौँदेखि भोग्दै आइरहेका अपमानजनक पीडाका व्यथा एवं वेदनालाई समाप्त पार्दै सामाजिक रूपान्तरणको पाटोको रूपमा विकास गर्ने अवसरको रुपमा लिन थालिएको छ । दर खान तीजको अघिल्लो दिन कुर्नु पर्ने अवस्था पनि अब छैन । यद्यापि यसमा सहमत हुने र नहुने ठाउँ छ ।