काठमाडौँ– राष्ट्रपति कार्यालयले माफी मिनाहाका लागि सिफारिस भएका ३४ जनालाई माफी दिनु पर्ने कारणसहित स्पष्ट आधार लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। गृह मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भएको बाहेक ३४ जनाको सूची पठाएपछि यसबारेमा स्पष्ट हुन खोजेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयले आममाफी दिनुपर्ने कारण र महान्यायाधिवक्ता रायसहित पठाउन भनेको स्रोतले जनाएको छ। सरकारले आउँदो असोज ३ गते संविधान दिवस पारेर ६ सय ७० जना कैदीबन्दीलाई माफी दिँदैछ। कारागार व्यवस्थापन विभागले कैद माफीका लागि आठ सय जनाको सूची पठाएको थियो।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ६ सय ७० जनाको कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। राष्ट्रपति कार्यालयले फिर्ता पठाएका नामहरूमा धेरैजसो ज्यान मुद्दा र कर्तव्य ज्यान मुद्दा तथा तस्करी र सहकारी ठगीमा सजाय तोकिएकाहरू रहेका बुझिएको छ।