समाजमा द्वन्द्व फैलिँदा सरकार के हेरेर बसेको छ? : नेता केसी - Chaitanya News
  • 2026-11-17
  • 19:26:08
  • मंगलबार,मंसिर ०२, २०८३
  • समाजमा द्वन्द्व फैलिँदा सरकार के हेरेर बसेको छ? : नेता केसी

    समाजमा द्वन्द्व फैलिँदा सरकार के हेरेर बसेको छ? : नेता केसी

    काठमाडौँ– नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले समाजमा द्वन्द्व फैलिँदा सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरेका छन। आज (आइतबार) त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आयोजना गरेको १७ औँ ‘सिपिडिएस डे’ को अवसरमा ‘शान्ति स्थापनामा तल्लो तह’ नामक विषयमा आफ्नो धारणा राख्दै उनले यस्तो प्रश्न गरेका हुन्। यस्तै उनले भ्रष्टाचारले ग्रस्त समाजमा सुशासन कायम हुन नसक्ने समेत बताए।

    उनले अहिले राजनीतिक दलहरुप्रति वितृष्ण बढिरहेको र समाजमा भ्रष्टाचारले जरो गाड्दै सामाजिक द्वन्द्व समेत फैलिएको अवस्थामा सरकारले काम गर्न नसकेको टिप्पणी गरे। केसीले सरकारले समयमा नै ती द्वन्द्व नियन्त्रणका लागि कदम चाल्न समेत आग्रह गरे।

    ‘अहिले सम्पूर्ण राजनीतिक दलहरुप्रति एकपछि अर्को वितृष्णा पैदा भइरहेको छ। हामी सुशासनको कुरा गछौँ। भ्रष्टाचारविहिन समाजमा मात्र सुशासन सम्भव छ। जहाँ भ्रष्टाचारले व्यप्त समाजमा सुशासन कायम हुुन सक्दैन। अहिले चारैतिर भ्रष्टाचार र सामाजिक द्धन्द समाजमा फैलाउन खोजिन थालेको छ’ उनले भने, सरकार के हेरेर बसेको छ।

    अहिले समाजमा बहसको सट्टा विवाद, लोकतान्त्रिकरणको सट्टा समग्र राजनीतिककरण, स्वतन्त्रताको नाममा अराजकता, उदारताको नाममा दण्डबिहिनताको अवस्था सिर्जना भएको केसीले बताए। बन्दुक पड्काउनुु मात्र द्वन्द्व नभएको बताउँदै उनले शान्तिका लागि समाज क्रियाशील र उत्पादनशील हुनुपर्नेमा जोड दिए।

    ‘हाम्रो समाजमा बहसको सट्टा विवाद, लोकतान्त्रिकरणको सट्टा समग्र राजनीतिककरण, स्वतन्त्रताको नाममा अराजकता, उदारताको नाममा दण्डबिहिनताको अवस्था सिर्जना भएको छ’ उनले भने, ‘बन्दुक पड्किनु मात्र द्वन्द्व होइन। शान्ति भन्नाले सन्नाटा शान्ति होइन। शान्ति जीवन्त हुनुुपर्छ र त्यो क्रियाशील र उत्पादनशील हुनुपर्छ।

    कुनै पनि देशका नागरिक अनुशासित हुनका लागि त्यो देशमा सुशासन हुन जरुरी रहेको उनले बताए। अहिले नेपाली समाज अनुसशासनहिनताको चरम बाटोमा गएको बताउँदै केसीले मान्छेले मान्छेलाई खुकुरी प्रहार गर्ने अवस्था आइसकेको र त्यसलाई निर्मुल पार्न सरकार लाग्नुपर्ने बताए । ‘जनतालाई अनुशासनको निम्ति जबसम्म त्यो देशमा सुशासन हुँदैन त्यो दिनसम्म जनतामा अनुशासन हुँदैन । हामी अनुशासनहिनताको चरम बाटोमा छौँ अहिले’ नेता केसीले भने।

    लोकतान्त्रिक प्रणालीमा व्यक्ति हाबी हुँदा समाज प्रणालीको भन्दा पनि व्यक्तिको पछि लाग्न थालेको बताउँदै सिंहदरबारमा आगो लगाउँछु भन्नेहरुलाई नै मान्छेले स्वीकार गर्ने अवस्था बनेको केसीले बताए। त्यसैका कारण समाज अराजकतातिर जान लागेको उनको भजाई छ।