भारोत्तोलन खेलाडी सागरले वर्ल्ड च्याम्पियनसिपमा बनाए राष्ट्रिय कीर्तिमान - Chaitanya News
  • 2026-06-07
  • 02:02:01
  • शनिबार,जेठ २३, २०८३
  • भारोत्तोलन खेलाडी सागरले वर्ल्ड च्याम्पियनसिपमा बनाए राष्ट्रिय कीर्तिमान

    भारोत्तोलन खेलाडी सागरले वर्ल्ड च्याम्पियनसिपमा बनाए राष्ट्रिय कीर्तिमान

    काठमाडौं– नेपाल भारोत्तोलन संघले नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले साउदी अरबको रियादमा जारी आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएको बताएको छ।

    उनले पुरुष १०९ केजी तौल समूहमा स्न्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकोहो।

    सागरले स्न्याचतर्फ १२८ केजी, क्लिन एण्ड जर्कमा १६३ केजी र समग्रमा २९१ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

    उनले यसअघि आफ्नै नाममा रहेको तीनवटै कीर्तिमान सुधार गरेका हुन्। यसअघि उनको नाममा स्नाचमा १२२, क्लिन एन्ड जर्कमा १६२ र कुलमा २८४ केजीको कीर्तिमान थियो।

    १६ वर्षपछि नेपालले वर्ल्ड भारोत्तोलन च्याम्पियनसिपमा भाग लिँदा ५ खेलाडीले सहभागिता जनाएका थिए।

    लामो समयपछि वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाएको नेपालका ५ खेलाडीले नै राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य राखेका थिए।

    तर पुरुषतर्फ सागरसहित विशालसिंह विष्टले ९६ केजीतर्फ र विकास भट्टले ८१ केजीतर्फ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए।

    नेपालका महिला खेलाडीद्वय टिकामाया गुरुङ र शारदा चौधरीले भने राष्ट्रिय कीर्तिमान बनाउन सकेनन्।

    चीनमा १९औं एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीले वर्ल्ड च्याम्पियनसिप खेल्ने मौका पाएका थिए।

    वर्ल्ड च्याम्पियनसिप खेलेका पाँचै खेलाडीले सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हान्झाउमा हुने १९औं एसियन गेम्समा पनि सहभागिता जनाउनेछन्।