सरकार अहिले तत्काल परिवर्तन हुँने सम्भावना छैन : शशाङ्क कोइराला - Chaitanya News
  • 2026-11-17
  • 19:26:28
  • मंगलबार,मंसिर ०२, २०८३
  • सरकार अहिले तत्काल परिवर्तन हुँने सम्भावना छैन : शशाङ्क कोइराला

    सरकार अहिले तत्काल परिवर्तन हुँने सम्भावना छैन : शशाङ्क कोइराला

    चितवन– नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले सरकार अहिले तत्काल परिवर्तन हुँने सम्भावना नरहेको बताएका छन्। आज (आइतबार) सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले भने, “मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ।” सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए। पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उनको भनाइ थियो।

    विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले ‘प्रचण्ड’ साधारण व्यक्ति नभएको उनको भनाइ छ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनले जिकिर गरे।

    सम्भावना नेपालमा धेरै कुराको हुने जनाउँदै उनले अब काँग्रेस एक्लै हिँड्नुपर्ने बताए। उनले भने, “काँग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलीराखेको छ भइहाल्यो”, उनले भने, “मेरो दृष्टिकोणमा काँग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो।”

    सच्चा काँग्रेस एक भएर लाग्नुपर्ने समय आएको उनको भनाइ थियो। “इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको काँग्रेस एक्लै अघि बढ्नुपर्छ”, उनले भने।

    पछिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको उनको आरोप छ। अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्ने उनले बताए। विचार राम्रो भए पनि कार्यशैलीमा परिवर्तन भए पार्टी एक्लै अघि बढ्न सक्ने उनको तर्क थियो।