महोत्तरीमा एउटै पदमा सत्ता गठबन्धनका दुई जनाको मनोनयन दर्ता - Chaitanya News
  • 2026-04-25
  • 04:58:08
  • शुक्रबार,बैशाख ११, २०८३
  • महोत्तरीमा एउटै पदमा सत्ता गठबन्धनका दुई जनाको मनोनयन दर्ता

    महोत्तरीमा एउटै पदमा सत्ता गठबन्धनका दुई जनाको मनोनयन दर्ता

    बर्दिबास– आसन्न निर्वाचनमा सत्ता गठवन्धन तर्फबाट महोत्तरी क्षेत्र नं. १ को (क) मा प्रदेश सभा सदस्यका लागि एउटै पदमा २ जनाले मनोनयन दर्ता गराएपछि आधिकारिक उम्मेदवारको लागि हानथाप सुरु भएको छ। विवाद समाधान हुन नसकेपछि चुनाव प्रचारप्रसारमा अन्यौलता देखिएको छ।

    यही विषयलाई लिएर सत्ता गठबन्धन भित्रका स्थानीय दलबिच मनमुटाब सुरु भएको छ भने पूर्व मन्त्री गिरिराजमणि पोखरेललाई तनाव सुरु भएको छ। गठबन्धनबाट नेकपा एकिकृत समाजवादीले सुरेशबहादुर राउतलाई टिकट दिएको छ। उता लोकतान्त्रिक समाजवादीले पीताम्बर महतोलाई उठाएको छ। एउटै पदमा दुई उम्मेदवार भएको जान्दा जान्दै गठबन्धन नेतृत्व गम्भीर नभएपछि दुवैले मनोनयन दर्ता गराएको बताए।

    आधिकारिक उम्मेदवार को हो? भन्नेमा नेतृत्वले स्पष्ट गर्न सकेको छैन। दुवै जनाले आफूलाई आधिकारिक भएको दाबी गर्दै आएका छन् तर कार्यकर्ता अन्यौलता छन्। समाजवादीका राउतले आफ्नो पार्टीको पत्र देखाउँदै आफू नै आधिकारिक उम्मेदवार भएको दाबी गरे। समाजवादीका महासचिव डा. वेदुराम भुसालले हस्ताक्षर गरेको पत्रमा ‘महोत्तरीको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (क) मा सुरेशबहादुर राउत र क्षेत्र नं. २ (क) मा मञ्जु यादव आधिकारिक उम्मेदवार भएको’ ब्यहोरा उल्लेख छ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनभित्रको दल नै नभएको राउतको जिकिर छ। ‘लोसपा त अन्तिम अवस्थामा आएर तालमेल गरेको पार्टी हो, गठवन्धनको हैन’ उनले भनाई राखे। त्यसैले मेरो उम्मेदवारी नै आधिकारिक भएकोमा दुई मत हुन सक्दैन।’ सत्ता गठबन्धनभित्रको सशक्त दल नेपाली काँग्रेसको स्थानीय नेता कार्यकर्ताले पनि राउतलाई नै समर्थन गरेकोले राउतको पक्षमा जनमत बढ्दै गएको छ।

    उता पीताम्बर महतोको दाबी पनि उस्तै छ। आफू विवादमा पर्न नचाहेको उनले बताए। तर पार्टीले नै टिकट दिएपछि सम्मानपूर्वक मनोनयन दर्ता गराएको बताए। ‘यो विवाद मेरो र राउत बिचको भन्दा पनि केन्द्रको हो’ महतोले भने ‘केन्द्रले टुङ्गो लगाइ दिए त भई गो नि।’

    श्रोतका अनुसार यसै विषयलाई लिएर गिरिराजमणि पोखरेल र लोसपा प्रमुख महन्थ ठाकुर बिच एक दिनअगि जलेश्वरमा छलफलसमेत भएको छ। फेरि पनि समस्याले निकास नपाउदा यसको फाइदा विपक्षी दललाई पुग्ने सत्ता गठवन्धनकै कार्यकर्ताले बताएका छन्। सत्ता गठबन्धनले प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी क्षेत्र नं. १ बाट चौथो पटक पनि पोखरेललाई नै उम्मेदवार बनाएको छ।

    नेपाली काँग्रेसका वरिष्ठ नेता चिरञ्जीवी हमालले विवाद समाधान नहुँदा यसको तत्काल प्रभाव प्रचारप्रसारमा परेको छ। ‘अहिले के भनेर मत माग्ने? उनले प्रश्न गरे ‘अन्तिम टुङ्गो लगाउन जति ढिलाइ हुँदै जान्छ यस क्षेत्रमा सत्ता गठबन्धनको माहौल बिग्रने क्रममा छ।’