काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताएका छन्।
आज (शुक्रबार) काठमाडौँमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
यस्तै उनले कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने समेत बताए। आफूले शिक्षालाई निःशुल्क बनाउनुपर्ने कुरा संसद र मन्त्रिपरिषदमा पनि राखिरहेको उनले बताए। शिक्षा र स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै यसको प्रगति र व्यवस्थापन बिना राष्ट्रको विकास सम्भव नहुने उनले बताए।
उनले आफूले मन्त्रीको जिम्मेवारी सम्हालेपछि १६ वर्षदेखि मन्त्रालयमा अल्झिएर बसेका विभिन्न रणनीतिहरू पास गरेको पनि बताए। मन्त्री बस्नेतले केही दिन अघि कान्ति बाल अस्पतालमा आकस्मिक उपचार नपाएर एक बालिकाको मृत्यु भएको प्रकरणमा सम्बन्धित स्वास्थ्यकर्मीको कमी, कमजोरी भएको भन्दै कारबाही प्रक्रिया अगाडी बढेको बताए।