वि.सं. २०२१ सालको भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरियो ।
पछाडि फर्केर हेर्दा नेपालमा बाल दिवश रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमणको क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बाल दिवस मनाउने गरेको र भारतका प्रभावशाली नेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभयो ।
भारतबाट फर्केपछि रत्नद्वारा आफ्नो जन्मदिन पारी वि.संं. २०२१ भदौ ४ मा नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्मदिनमा बालमन्दिरमार्फत टुहुरा, अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बाल दिवसको घोषणा गरी नियमित रुपमा मनाउन थालेको पाइन्छ ।
वि सं. २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछि गठित अन्तरिम सरकारले संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई सन् १९९० को सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनलाई नै बाल दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।
त्यसैअनुसार वि.संं. २०६३ देखि भने भदौ ४ गतेलाई छाडेर भदौ २९ गते यो दिवसलाई देशव्यापी रुपमा मनाउने गरिएको छ ।
बालदिवस कस्तो हुनुपर्छ वा बाल दिवस कसरी मनाउनु पर्दछ भन्न विषय त आम रूपमा उठिरहेकै हो । तर पनि बाल दिवस औपचारिकतामा मात्रै सीमित भइरहेको छ । बालबालिकाका निम्ति चाहिने आधारभूत हक र अधिकार संविधानको दफामा मात्र त सीमित छ ।
दिवसलाई कसरी मनाइयो भन्दा पनि दिवसले बालअधिकारका क्षेत्रमा कस्तो परिवर्तन ल्याउन सफल भयो भन्ने महत्वपूर्ण हो । बाल दिवस मनाउन लाखौँ खर्च गर्ने हामी त्यसपछिका दिनमा बालबालिकाको अवस्था थाहा पाउन के गर्छाैँ ? अध्ययन गर्छाैँ ? यी प्रश्नको जवाफ बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था, जनप्रतिनिधि र सरकारले दिनुपर्छ । उत्तर छैन भने यस पटकको बाल दिवसबाट उत्तर खोज्न लाग्नु पर्छ ।
विगतभन्दा तुलनात्मक सुधारहरू देखिए पनि गुणात्मक र सङ्ख्यात्मक हिसाबले हेर्दा अझै पनि गाँस–बाँस–कपास लगायत शिक्षा, स्वास्थ्य, सरसफाई, पोषण जस्ता आधारभूत आवश्यकताबाट बालबालिका अझै वन्चित छन् ।
नेपालको सविधान २०७२ भाग ३ र धारा ३९ अन्तर्गत पर्ने मौलिक हकहरूमा निम्नानुसार बालबालिकाको हकअधिकारको व्यवस्था गरिएको छ –
१) प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुनेछ ।
२) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ ।
३) प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ।
४) कुनै पनि बालबालिकालाई कलकारखाना, खानी व यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन ।
५) कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन ।
६) कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारले शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।
७) कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन ।
८) प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ ।
९) असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ ।
१०) उपधारा (४), (५), (६) र (७) विपरीतका कार्य कानुनबमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।
अन्तर्राष्ट्रिय बाल दिवसको मुख्य उद्देश्य भनेकै बालबालिकाहरुमाथि भइरहेको हिंसा र दुव्र्यवहारहरुको निराकरण गरी उनीहरुको व्यक्तित्वको विकास नरोक्किने खालको बालमैत्री समाजको निर्माण गर्नु हो । संसारका जुनसुकै समुदाय वा जुनसुकै ठाउँ होस्, चाहे त्यो हामीले काम गर्ने कार्यालय होस् या त हामीले खाजा खाने होटल, चाहे हामी चढ्ने सार्वजनिक सवारीसाधन होस् या त कसैको घरभित्र नै, ती प्रत्येक ठाउँहरुमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा बालबालिकाहरुको दुरूपयोग र उनीहरुमाथि हिंसा र दुव्र्यवहार हुन नदिनु तपाईं हाम्रो कर्तव्य हो । यस अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा बालअधिकारअन्तर्गत गुणस्तरीय, निःशुल्क र अनिवार्य शिक्षाका लागि सरोकारवाला सबैले पहल गरौँ । यसैबाट हाम्रो भविष्य सुनिश्चित हुनेछ ।