हेटौँडा अस्पतालका ७९ चिकित्सकले बुझाए मेडिकल सुपरिटेन्डेन्टलाई सामूहिक राजीनामा - Chaitanya News
  • 2026-07-16
  • 23:24:31
  • बिहिबार,आषाढ ३२, २०८३
  • हेटौँडा अस्पतालका ७९ चिकित्सकले बुझाए मेडिकल सुपरिटेन्डेन्टलाई सामूहिक राजीनामा

    हेटौँडा अस्पतालका ७९ चिकित्सकले बुझाए मेडिकल सुपरिटेन्डेन्टलाई सामूहिक राजीनामा

    मकवानपुर– हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले मेडिकल सुपरिन्डेन्ट डा. रामचन्द्र सापकोटालई सामुहिक राजीनामा बुझाएका छन। अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले सामूहिक रूपमा राजीनामा पत्र तयार गरेका हुन्। चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेडिकल सुपरिटेन्डेन्ट सापकोटा बुझाएका हुन्।

    उक्त पत्रमा सुरक्षाको प्रत्याभूति नभएकाले उपचार सेवा प्रवाह गर्न नसक्ने कारण उल्लेख गरिएको एक चिकित्सकले जानकारी दिए। उनका अनुसार अस्पताल भित्रै प्रवेश गरेर उपचारमा खटिएका डाक्टर माथि आक्रमण गर्ने र कारवाहीका लागि प्रहरी प्रशासनले देखाएको आनाकानी विरुद्ध सामूहिक रूपमा राजीनामा दिनुपर्ने बाध्यता देखिएको हो। ‘सेवा प्रवाह गरे बापत डाक्टर पिटिनुपर्ने, प्रहरी प्रशासनले कारबाहीमा गरेको ढिलासुस्तीले हामीलाई हतोत्साहित बनाएको छ। डाक्टरहरूले सुरक्षित महसुस भएर काम गर्ने वातावरण छैन। त्यसैले सामूहिक राजीनामा लेखेका हौँ।’ उनले भने।

    हेटौँडा अस्पतालका मेसु डा. सापकोटा मार्फत हस्ताक्षर प्रमुख जिल्ला अधिकारी समक्ष बुझाउने तयारी गरिएको उनले बताए।

    ‘प्रहरी प्रशासन कै अगाडी डाक्टर काट्छ मार्छु भन्ने धम्की आउँदा सम्म सुरक्षा निकाय मौन देखिएपछि त्रासपूर्ण वातावरणमा काम गर्न सक्ने अवस्था बनेन र हामी सामूहिक राजीनामाको तयारीमा लागेका हौँ। उनले भने, ‘हामीले ७८ जना डाक्टरको हस्ताक्षर सङ्कलन गरेका छौँ। उक्त सङ्कलित हस्ताक्षरसहितको राजीनामा पत्र मेसु सापकोटा मार्फत प्रशासनमा जान्छ। त्यसमा उहाँको पनि हस्ताक्षर रहन्छ। सोही अनुसार राजीनामा पत्रमा ७९ जनाको हस्ताक्षर हुन्छ।