मोतीराम अर्थात् साहित्यका अनमोल “मोती” - Chaitanya News
  • 2026-11-19
  • 05:36:15
  • बुधबार,मंसिर ०३, २०८३
  • मोतीराम अर्थात् साहित्यका अनमोल “मोती”

    मोतीराम अर्थात् साहित्यका अनमोल “मोती”

    युवा कवि कवि मोतीराम भट्ट नेपाली साहित्यका अमर तारा हुन् । वि.सं. १९२३ भाद्रकृष्ण औंसी अर्थात् कुशे औंसीका दिन काठमाडौंको भोंसी टोलमा जन्मिएर भारतको वाराणसीमा गई शिक्षादीक्षा प्राप्त गरेका मोतीराम भट्ट थोरै समयमा पनि धेरै महत्वपूर्ण योगदान गर्न सफल प्रतिभा हुन् । उनी आफूमात्र नेपाली सााहित्यका साधक बनेका होइनन् उनको सरसङ्गतमा आएका सबैेलाई भाषा साहित्यसेवामा लगाउनसमेत मोतीराम सफल भएका थिए ।

    नेपालीमा साहित्य लेखनको परम्परा नै नबनेका समयमा उनले विद्यार्थीकालदेखि नै नेपाली भाषामा कविता, गीत, गजल, जीवनी, नाटक आदि लेखे र लेख्ने अभियान चलाए । उनले कविता लेख्ने क्षमता भएकाहरूलाई लेख्न र सुनाउन प्रोत्साहित मात्र गरेनन् मोती मण्डली गठन गरेर सफल साहित्यिक अभियान नै चलाए । जसका कारण प्रशस्त कवि र काव्यहरू माध्यमिक कालमा नै सिर्जना हुन पुगे । नेपाली साहित्यको भण्डार भरिन थाल्यो । मोतीरामले नै भानुभक्त आचार्यको रामायण पहिले बालकाण्ड र पछि सबै खोजेर छपाउने काम गरे । भानुभक्तको जविनी लेखेर जीवनी र समालोचना साहित्यको विकासमा पनि महत्वपूर्ण योगदान दिन सफल भए । आज हामी भानुभक्त आचार्य र उनका कृतिबारे जे जति जानकारी पाउँछौ ती मोतीरामकै प्रयासबाट धेरैजसो सम्भव भएका हुन् ।

    त्यतिबेला नेपालमा प्रेस छापाखाना थिएनन् । त्यसैले नेपाली किताब छाप्न भारतको वाराणसीमा गोर्खा भारत जीवन नामको छापाखाना १९४४ मा खोले । त्यसबाट निरन्तर अघि बढ्दै मोतीकृष्ण धीरेन्द्र कम्पनीको स्थापना, पाशुपत छापाखाना स्थापना गरेर नेपाली कृतिहरुको प्रकाशनको लहर नै चलाउन सफल भएका थिए । उनले मोेती मण्डलीको गठन गर्दै ठाउँ ठाउँमा कविता, गीत, गजल लेख्ने, सुनाउने, छपाउने अभियान नै चलाए । मोती मण्डलीले लेख्न अभ्यास गर्ने कविहरूका लागि विभिन्न छन्दका कविताका समस्या (एक हरफ वा शीर्षक) दिएर त्यसलाई पूरा लय भाव मिलाएर पूरा गरी कविता तयार गर्नुपर्ने समस्यापूर्ति कविता लेखन अभियान नै चलाएको थियो । जसका कारण नेपालीमा लेखन, वाचन र प्रकाशनको अभियान नै सञ्चालन भयो ।

    कहाँसम्म्को आँट लौ हेर तिन्को
    रिसाएर आँखा पनि तर्न लागे
    एकै पल्ट आँखा घुमाई दिनाले
    कति मर्न लागे कति डर्न लागे

    मोतीरामको शिक्षा
    दरबार हाइस्कूलमा गनिएका राणा खानदानका बीच शिक्षा लिने अवसर प्राप्त गर्ने थोरै नेपालीमध्ये एक मोतीराम ६ वर्षकै कलिलो उमेरमा स–परिवार भारतको बनारसतर्फ लागेका थिए । प्रवास बसाइको सिलसिलामा मोतीरामले उर्दू साहित्यको पनि गहन अध्ययन गरेको पाइन्छ । जसको फलस्वरूप केही उर्दू भाषाका नाटक समेत उनले लेखेका थिए । नेपाली साहित्यिक कौशललाई मलजल गर्न र यसको विकासका लागि उनले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतुलनीय छ । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीरामलाई आदिकवि भानुभक्तसँगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो । साहित्यिक अग्रता मात्र नभई उनमा राष्ट्रियता र नेपालीपनमा गर्व थियो भन्ने कुरा उनको यो लेखनले स्पष्ट पार्छः

    अचल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा
    रिपुको मन थर्कोस् थरथर गरी छण घरीमा
    यावन्तले राज गर्दा कति पतित हिन्दूस्थल भयो
    फगत यो नेपालको मुलुक बची कञ्चन रही गयो।

    मोतीराम र भानुभक्त
    आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्ट एकर्काका पर्यायवाची मानिन्छन् । साथीको विवाहमा भानुभक्तको केही फुटकर कविताहरू सुनेको मोतीरामले त्यसपश्चात् भानुभक्तका कृतिहरूलाई जनमानसमा उजागर गर्न अथक प्रयास गरेको पाइन्छ । भानुभक्तका फुटकर कविताहरू र अन्य कृत्तिकाबारेमा मोतीरामले अध्ययन, उत्खनन गरी नेपाली समाजमा उजागर नगरेको भए सायद आज भानुभक्तका सबै कृतिहरू हामीमाझ हुने थिएनन् । भानुभक्तको जीवनी पनि मोतीरामले नै लेखेका हुन् ।

    नेपाली भाषाको पहिलो मासिक पत्रिका गोरखा भारत जीवनलाई बनारसमै रहेर व्यवस्थापन तथा प्रकाशनको श्रेय उनै मोतीराम भट्टलाई जान्छ । नेपाली साहित्यिक भीडका अद्वितीय तथा आफ्नो नाम जस्तै अत्यन्तै चम्किला मोतीरामका कृतिहरू मनोवेग प्रवाह, गजेन्द्र मोक्ष, प्रह्लाद भक्ति कथा लगायतका आज पनि उपयोगी र महत्त्वपूर्ण छन् । उनका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा बेला–बेला अग्रज साहित्यकारहरूले अत्यन्तै सम्मानका साथ गरिरहन्छन् । मित्र देव शमशेर जङ्गबहादुर राणाको अनुरोधमा शारदाको नाट्य निर्देशन गरी प्रधानमन्त्री वीर समसेरको दरबारमा मञ्चन समेत गरिएको थियो । त्यसपश्चात् कहीँ–कतै शारदालाई मञ्चन गरिएकोबारे त्यति चर्चा पाइँदैन । जाँदा जाँदै हाम्रा अग्रज श्रद्धेय मोतीराम भट्टको यो साहित्यिक भाव केवल यहाँहरूका लागि हाम्रो पात्रोमाः

    कहाँ जन्म पाएँ, कहाँ आज आएँ
    दुखीमा म पैला भनी चाल पाएँ

    हरे कर्म मेरो पनि के रहेछ
    विधाता ममाथि बिरानै भएछ

    यीजस्ता अह्राई म बस्ने उसोरी
    यिनैको हुकुंमा छुँ ऐले कसोरी

    विवेक् छैन कत्ती पनी दैवलाई
    न मेरै दोष् के भनूँ एसलाई

    नेपाली गजलको श्रीगणेश
    नेपाली भाषामा गजलको प्रारम्भ यिनै महान् मोतीरामले गरेका हुन् । उनका गजलमा प्रेम पाइन्छ, नारी सङ्गत र सामीप्ययता पाइन्छ । शृङ्गार रसले भरिएका उनका गजलहरू अत्यन्तै लोभ लाग्दा छन् ः

    यी सानै उमेर देखि मन हर्न लागे ।
    यस्नै सुन्दरीले जुलुम् गर्न लागे ।।

    यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।
    उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।

    वर्तमान समयमा गजललाई अध्ययन गर्ने अथवा पछ्याउने पुस्ताले पक्कै पनि उनका शृङ्गार रसका भावहरूबाट प्रभावित भएर आफ्ना रचनाहरूमा मोतीराम भट्टलाई सम्झिएकै हुनुपर्छ ।