काठमाडौं– टर्कीको एउटा कोइलाखानीमा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या २८ जना पुगेको छ। ७० जनाभन्दा धेरै हराइरहेका छन्।
११ जनाको उद्धार गरी उपचार भइरहेको जनाएको छ। विस्फोटको समयमा खानीमा झण्डै १ सय १० जना मानिसहरू काम गरिरहेका थिए। उनीहरु मध्ये ४९ जना मानिसहरू खानीभित्र तीन सय मिटरको गहिराइमा थिए।
उद्धारकर्ताहरूले थप मानिसहरूलाई जीवितै उद्धार गर्न सकिने आशामा चट्टान फोरेर खानीभित्र जाने प्रयास गरिरहेका छन्। ब्ल्याक सीको तटीय क्षेत्रमा पर्ने अमासरामा रहेको खानीबाट उद्धारकर्मीहरूले विस्फोटका कारण पूरै कालोले ढाकिएका मानिसहरूलाई खानीबाट निकाल्दै गरेका भिडिओहरू सार्वजनिक भएका छन्। विस्फोटको कारण अझैसम्म थाहा हुन सकेको छैन। अधिकारीहरूले यसबारे अनुसन्धान सुरु गरेको बताएका छन्।
टर्कीका ऊर्जामन्त्रीले घटनाको प्रारम्भिक सङ्केतहरुबाट कोइला खानीमा निस्कने प्राकृतिक मिथेन ग्यासका कारण विस्फोट भएको हुनसक्ने देखिएको बताउनुभएको बीबीसीले जनाएको छ। खानीबाट भागेर बाहिर निस्कन सफल एकजना कामदारले भित्र धुवाँ र धुलो फैलिएको तर के कारण त्यस्तो भयो भन्ने थाहा नभएको बताएका छन्।
सन् २०१४ मा टर्कीको दक्षिणी सहर सोमामा भएको कोइलाखानी विस्फोटमा ३ सय १ जनाको ज्यान गएको थियो।