काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले स्थानीय तहको सार्वजनिक खरिद क्षमता अभिवृद्धि र खरिद कार्यमा देखिएका अन्यौलता हटाउने उद्देश्यका साथ पहिलो चरणमा गण्डकी र बागमती प्रदेशमा प्रोक्युरमेन्ट क्लिनिक कार्यक्रम सञ्चालन गरेको छ।
स्थानीय तहका खरिद कार्यमा संलग्न कर्मचारी लेखा शाखाका कर्मचारी र इन्जिनियरहरु उक्त कार्यक्रममा सहभागी रहेका छन्। सार्वजनिक खरिदका विभिन्न चरणहरु खरिद योजना तयारी लागत अनुमान तयारी स्पेसिफिकेसन र डिजाइन तयारी बोलपत्र तयारी बोलपत्र मूल्यांकन खरिद सम्झौता सम्झौता पश्चातका कार्यलगायतका विषयमा सहभागीले आफ्नो कार्यक्षेत्रमा भोगेका समस्या राख्ने र विज्ञबाट सोको समाधान सुझाव गर्ने किसिमबाट पहिलो चरणमा गण्डकी र बागमति प्रदेशमा प्रोक्युरमेन्ट क्लिनिक कार्यक्रम सञ्चालन भैरहेको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीले बताए।
सार्वननिक खरिदका विषयमा आएका चुनौती सहभागीबाट व्यक्त गर्ने र विज्ञले ती समस्या समाधानका तरिका बताइदिने गरी संचालन गरिएको ‘प्रोक्युरमेन्ट क्लिनिक’ अन्तरक्रियात्मक कार्यक्रमबाट सहभागी लाभान्वित भएको उनले बताए। सवै सातै प्रदेश र सवै स्थानीय तहको सहभागित हुने गरि यो कार्यक्रम नियमित रुपमा सञ्चालन गरिने उनले बताए। यो कार्यक्रम विभिन्न सार्वजनिक निकायको आवश्यकताको आधारमा पनि संचालन गरिने उनले बताए।
उनका अनुसार नेपाल राष्ट्र बैंकका खरिद कार्यमा संलग्न कर्मचारीहरुको लागि आयोजित प्रोक्योरमेन्ट क्लिनिक तथा सार्वजनिक खरिद ऐन नियमावली र नेपाल राष्ट्र बैंक खरिद विनियमावलीमा रहेका खरिद प्रावधान तथा प्रकृया सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन भैसकेको छ। नेपाली सेनाका विभिन्न कार्यालयमा खरिद इकाइमा रहेका कर्मचारीहरुको विद्युतीय खरिद सम्बन्धी तालिम संचालन भैरहेको उनले बताए।
प्रोक्युरमेन्ट क्लिनिक एउटा सफल अभ्यास भएको र अव यस विधिबाट खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास गर्न सकिने भएकाले स्थानीय तह र प्रदेश समेतका कर्मचारीको सहभागितामा र विभिन्न सार्वजनिक निकायको माग बमोजिम प्रोक्युरमेन्ट क्लिनिक र अन्य विषयगत तालिमहरु घनीभूत रुपमा संचालन गर्नु आवश्यक भएकोले यी कार्यक्रमहरुको संचालनमा प्राथमिकता दिइएको सचिव डा. रेग्मीले बताए।