काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ।
उनको पार्थिव शरीर नेपाली सेनाको टोलीले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल ल्याउँदै छ। एमाले केन्द्रीय कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।
आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को निर्णयपछि नेम्वाङको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।
संविधान सभा अध्यक्ष नेम्वाङका छोराहरु विदेशमा भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टिको दिन निश्चित हुने छ। यद्यपि २८ गते मुन्धुम सँस्कृतिअनुसार अन्त्येष्टि गर्ने तयारी छ। उनको अन्त्येष्टि जहिले गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने छ।
नेम्वाङको आज बिहान निधन भएको थियो ।



