जनकपुर– जनता समाजवादी पार्टी केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ। ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो।
उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन्। १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन्।
आज बिहान साढे ८ बजे उनको निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जानकारी दिए।
यादव समानुपातिक सांसद थिइन्। दोस्रो मधेश आन्दोलनमा उनको सक्रिय भूमिका थियो।