काठमाडौं- निजामती सेवा दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो।
विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो।
हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्। दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ।
वि.सं. २०६१ भदौ २२ देखि शुरू भएको निजामती सेवा दिवसको यस वर्षको नारा दुई वर्षअघि नै तय भएको ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन’ रहेको छ। विगतमा प्रत्येक वर्ष नयाँ नारा तय हुँदै आएकोमा अझै ३ वर्ष यही नै नारा रहने छ।
सरकारले पाँच वर्षसम्म यही नाराअनुसार नै काम गर्ने निर्णय गरेको थियो । कर्मचारीले नाराअनुसार काम गरिदिएको भए मुलुक धेरै अगाडि बढिसकेको हुन्थ्यो। १० वर्षमा नै मुलुकले कोल्टे फेथ्र्यो तर नारा आडम्बरमा मात्रै सीमित हुँदै आएकाले मुलुकले प्रगति गर्नुको साटो दुर्गति झेल्न बाध्य भएको प्रशासनविद्को तर्क छ। निजामती प्रशासनलाई स्थायी सरकारको रूपमा समेत हेर्ने गरिन्छ।
दिवसका अवसरमा आज बिहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ।