चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा.अञ्जनीकुमार झालाई - Chaitanya News
  • 2026-05-03
  • 18:16:44
  • आइतबार,बैशाख २०, २०८३
  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा.अञ्जनीकुमार झालाई

    चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा.अञ्जनीकुमार झालाई

    काठमाडौँ– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा. अन्जनीकुमार झालाई दिएको छ। आज (बिहिबार)मन्त्रिपरिषदको बसेको बैठकले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई रिक्त आयोगको उपाध्यक्षको जिम्मेवारी दिएको सञ्चारमन्त्री रेखा शर्माले बताइन्।

    झा नेपाली काँग्रेसको कोटाबाट नियुक्त भएका हुन्। क्यान्सर रोग विशेषज्ञसमेत रहेका झा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष भइसकेका छन्। उनी १४ औँ महाधिवेशनमा मधेशी समुदायभित्र कांग्रेसको खुला केन्द्रीय सदस्यको उम्मेदवार थिए। राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार उपाध्यक्षको कार्यकाल चार वर्षको हुने व्यवस्था छ। उपाध्यक्ष आयोगको पूरा समय काम गर्ने प्रमुख कार्यकारी पद हो।

    राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा–२२ मा आयोगको उपाध्यक्ष नियुक्ति सम्बन्धी व्यवस्था छ। ऐनको दफा २२ को उपदफा ‘१’ मा सरकारले दफा–२३ बमोजिमको समितिले सिफारिस गरेका व्यक्तिहरू मध्येबाट एक जनालाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ। ऐनमा उपाध्यक्षको पदावधि बढीमा चार वर्षको हुने प्रावधान छ।

    आयोगको कार्यकारी भूमिकामा उपाध्यक्ष रहने कानुनी व्यवस्था छ। प्रधानमन्त्री आयोगको अध्यक्ष हुन्छन्।