काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबरमा हुने तय भएको महाधिवेशन एकताको नहुने सम्भावना बढेर गएको छ। गत असार पहिलो साता संस्थापन पक्ष र छुट्टै एनआरएनए चलाइरहेका विनोद कुँवर नेतृत्वको एनआरएनएबीच एकता गर्ने सहमति भए पनि उक्त सहमति कार्यान्वयन हुन नसकेको हो।
सहमत अलपत्र बनेसँगै दुई एनआरएनए छुट्टाछुट्टै महाधिवेशन गर्ने तयारीमा पुगेका छन्। हाल बद्री केसी कार्यकारी अध्यक्ष भएको एनआरएनए संस्थापनले अक्टोबर १७ देखि २० सम्म ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ।
तर, प्रधानमन्त्रीको रोहबरमा भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न संस्थापनबाट कुनै पहल नभएपछि अब पर्खेर बस्ने अवस्था नआएको कुँवरले बताए। उनले भने छिट्टै बैठक बसेर नयाँ कार्य योजना सार्वजनिक गरिनेछ।
तीन बुँदे सहमतिपछि कुँवर नेतृत्वको एनआरएनएको राष्ट्रिय समन्वय समितिको अधिवेशनलगायतका समग्र गतिविधि प्रभावित भएका छन् । यही शनिवार विशेष महाधिवेशन बोलाइएकाले सो त्यसबाट समग्र विषयमा छलफल गरेर निर्णय लिइने उनको भनाइ छ।