विषय प्रवेश
तनाव गाह्रो परिस्थितिको सामना गर्नुपर्दा शरीरले देखाउने असामान्य प्रतिक्रिया हो। तनाव उत्पन्न हुने कारणहरू पत्ता लगाई समयमै यसको उपचार गर्नु नै तनाव व्यवस्थापन हो। एउटा निश्चित हद सम्मको तनावले व्यक्तिलाई सकारात्मक उर्जा प्रदान गर्दछ भने त्यो भन्दा त्रढी तनावले व्यक्ति र संगठनमा नकारात्मक असर गर्दछ।तनावलाई समयमै व्यवस्थापन गर्न नसक्दा यसले मानसिक र शारिरिक संकट उत्पन्न गर्दछ। तसर्थ तनाव उत्पन्न हुने कारणहरू समयमै पहिचानगरी यसको उचित व्यवस्थापन गर्नु आवश्यक रहेको छ।
तनाव के हो?
तनाव भनेको मानसिक दबाव हो। परिस्थितिको सामना गर्न गाह्रो हुँदा यो महसुस हुन्छ। जब तनाव हुन्छ, हाम्रो शरीरमा एड्रेनालिन नामक हर्मोनहरू दौडन थाल्छ। मुटुको धड्कन बढ्छ र मानसिक र शारीरिक असहजपना धेरै हुन्छ। आज हाम्रो जीवनमा तनावको मात्रा र तिनीहरूको आवृत्ति पनि धेरै छ। तर सबैभन्दा गाह्रो कुरा यो हो कि एड्रेनालाईन र कोर्टिसोल जस्ता तनाव हार्मोनहरूको उत्सर्जन हामीलाई आवश्यक नहुँदा बढी खतरनाक हुन्छ।यदि तनाव लामो समयसम्म रह्यो भने यसले हाम्रो प्रतिरक्षा प्रणाली र हृदयलाई नै हानि पुर्याउँछ। यसबाहेक बाहिरी रोगसँग लड्ने हाम्रो शारीरिक र मानसिक क्षमतामा पनि यसले असर पर्छ। तनाव हुँदा हाम्रो मस्तिष्कले शरीरको विभिन्न अङ्गमा हर्मोनहरू अत्यधिक मात्रामा उत्पादन गर्छ जसको प्रभावले मुटुको धड्कन बढाउने, रक्तचाप घटबढ गर्ने, फोक्सोलाई आवश्यकताभन्दा धेरै फुलाउने वा खुम्चाउने अनि मांसपेशीलाई कडा बनाउने गर्छ। हाम्रो मस्तिष्कले वास्तवमा के भइरहेको हो भनेर ठम्याउनुअघि नै हाम्रो शरीरले यस्तो प्रतिक्रिया देखाउन थालिसकेको हुन्छ। अनि तनावको अवधि सिद्धिएपछि हाम्रो शरीर फेरि सामान्य अवस्थामै फर्कन्छ। शरीरमा रहेको तनाव रेस्पोन्स सेलले नयाँ परिस्थितिहरूमा त्यसैअनुसार घुल्न मद्दत गर्छ। तर, हामीमा तनाव भनेको त नकारात्मक हो भन्ने मात्र धारणा रहेको छ। तर, तनाव सकारात्मक पनि हुन सक्छ। तनावले हामीलाई सचेत रहन, प्रेरित र जोखिमबाट बच्नका लागि तयार पनि गर्छ। उदाहरणका लागि यदि हामी एक महत्वपूर्ण परीक्षाका लागि तयारी गर्दै हुनुहुन्छ, जुन केही हप्तामा छ भने यो तनावको प्रतिक्रियास्वरूप शरीरले कडा मेहनत गर्न र लामो समय परीक्षाका लागि सचेत रहन मद्दत गर्न सक्छ। तर, तनाव तब समस्या बन्छ जब तनाव बिनाराहत, आराम र लामो अवधिसम्म रहिरहन्छ।
तनाव आउँछ, तर त्यसलाई सहि ढंगले व्यवस्थापन गर्नुपर्छ।तनाव हुनु सामान्य हो। परिस्थितिको सामना गर्न गाह्रो हुँदा यो महसुस हुन्छ। हाम्रो काम, करियर, भविष्य सबैले यस किसिमको दबाव पैदा गर्छ। जबसम्म हाम्रो चेतना रहन्छ, तबसम्म तनाव हुन्छ। तनावले त्यसबेला मात्र हामीलाई पिरोल्छ, जब यसको सहि व्यवस्थापन गर्न सकिदैन। तनाव व्यवस्थापन गर्ने कुरा हो। यो निर्मुल हुने कुरा होइन। अर्थात हाम्रो जीवनमा तनाव नै आउन नदिने भन्ने हुँदैन। परिवार, आफन्त, साथीभाई, समाज आदिको कारण तनाव हुनसक्छ। आफ्नै व्यक्तिगत कारणले तनाव हुन्छ। परिस्थितीको कारण तनाव हुन्छ। असफलतामा तनाव हुन्छ, सफलतामा पनि। तर, तनावलाई लिने होइन, व्यवस्थापन गर्ने हो। तनाव भनेको शरीरले देखाउने स्वाभाविक प्रतिक्रिया हो, जसले चुनौतीपूर्ण वा खतरनाक अवस्थाको सामना गर्न तयार बनाउँछ। यो प्रतिक्रिया मस्तिष्कबाट सुरु हुन्छ। फाइदाजनक तनावले तपाईँलाई तुरुन्तै प्रतिक्रिया देखाउन उत्प्रेरित गर्छ। केही हदसम्म तनावले तपाईँलाई लक्ष्यहरू हासिल गर्न मदत गर्छ।
जस्तैः स्कुलको परीक्षा दिँदा, जागिरको लागि अन्तरवार्ता दिँदा वा खेल खेल्दा उत्पन्न हुने तनावले हामीलाई आफ्नो तर्फबाट अझ राम्रो गर्न प्रोत्साहन दिन्छ।अचाक्ली तनाव वा लामो समयदेखि पिरोलिरहेको तनावले हानि पुर्याउँछ। हरसमय वा बारम्बार अचाक्ली तनावमा डुबिरहनुभयो भने त्यसले तपाईँलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा असर गर्न थाल्छ। लामो समयदेखि पिरोलिरहेको तनावको कारण मानिसहरू लागूपदार्थ सेवन गर्छन् अनि स्वास्थ्यलाई हानि गर्ने अन्य कामहरू गर्छन्। साथै यसले अन्य ठूलठूला समस्यासमेत निम्त्याउन सक्छ, जस्तैः डिप्रेसन हुने, जीवनदेखि दिक्क लाग्ने वा आत्महत्याको सोचाइ आउने।तर तनावले सबैलाई एउटै किसिमले असर गर्छ भन्ने छैन। यसले विभिन्न रोग निम्त्याउन सक्छ अनि हाम्रो शरीरको प्रायः सबै भागमा असर गर्छ।तनावको मुख्य स्रोत भनेको डर र त्रास पनि हो। जब मानिस गलत बाटोमा हिँड्छ, गलत बाटो अपनाएर कमाएको रुपैयाँ अरूले थाहा पाउँछ कि भन्ने डर मानिसको मनमा हुन्छ। त्यसपछि मानिसमा तनाव उत्पन्न हुन्छ। आफूले केही गल्ती काम गरेको छ भने मानिसमा त्यही गल्तीका कारण डर र भय भइरहन्छ। यसले मनमा अनेकौँ कुराहरू खेल्ने र डर उत्पन्न हुने भई नै रहन्छ। गैरकानुनी काम गर्दा डर उत्पन्न हुन्छ। भ्रष्टाचार गर्दा डर उत्पन्न हुन्छ र यही डरले मानिसलाई तनावग्रस्त गराउँछ। तनाव सबैलाई हुन्छ। बच्चा, किशोर, युवा, वयस्क, बृद्धा सबैलाई। धनी, गरिब। दुर्गमका, सुगमका। शिक्षित, अशिक्षित।
तनावलाई कसरी कम गर्न सकिन्छ?
आफ्नो मनपर्ने काम र शौखले व्यक्तिलाई तनावबाट मुक्त राख्न सहयोग गर्छ। चाहे बगैंचामा टहलिने होस, पेन्टिङ होस, गार्डेनिङ होस वा म्युजिक।हेडफोन लगाएर म्यूजिक सुन्दै तनाव भगाउन चाहने भने बिना शब्दको इन्स्ट्रुमेन्टल ट्र्याक सुनौ। लिरिक्सबाला गित सकभर नसुनौ किनकी त्यसले मनलाई भावुक बनाउँछ। तनावबाट मुक्त रहन हाम्रो शरीर स्वस्थ रहन अति नै जरुरी छ। आयुर्वेदिक चिकित्सा पद्धतिका अनुसार, हाम्रो पेट स्वस्थ रहन सक्यो भने मात्र हामी निरोगी हुन सक्छौँ। पेट स्वस्थ रहने मानिस तनावमुक्त हुन सक्छ किनभने पेटभित्रको नाभी अग्नि केन्द्र हो। यहाँबाट मूल ऊर्जा उत्पन्न हुन्छ र यही ऊर्जाले गर्दा हाम्रो पेट स्वस्थ रहन मद्दत गर्छ। जसरी सूर्यको तापले हाम्रो शरीरमा ऊर्जा प्राप्त हुन्छ, यसैगरी पेटभित्रको नाभीले पनि हामीलाई ऊर्जा प्राप्त गराउँछ। पेटभित्रको नाभी स्वस्थ राख्नका लागि हामीले आहार विहारमा ध्यान दिनु अत्यन्त जरुरी छ। हामीले खाने खाना स्वस्थ रहन अति नै जरुरी छ। विहार भनेको व्यायाम। हाम्रो शरीरलाई व्यायामको पनि उत्तिकै आवश्यकता छ। श्रम र व्यायाम नगर्ने मानिस स्वस्थ रहन सक्दैन। हाम्रो शरीरलाई हामीले काम गरेर थकाउनुपर्छ। यसले गर्दा हाम्रो शरीरमा व्यायामको काम गर्छ। जति धेरै व्यायाम, उति नै हाम्रो शरीर मजबुत हुने गर्छ। यसैगरी हाम्रो पेट सफा हुनु त्यत्तिकै जरुरी छ। पेटकै कारण शरीरमा अन्यत्र रोग उब्जिने भएका कारण पेटलाई सफा राख्न आयुर्वेदिकका चिकित्सकहरू सुझाव दिने गर्छन्।
पेटभित्रको नाभी स्वस्थ बनाउन कपाल भाती, मण्डूक आसन र अग्नि सार प्रणाम गर्नुपर्छ। यसले पनि नाभी स्वस्थ राख्न निकै मद्दत गर्छ। तनावबाट मुक्त रहन झूटो नबोलौँ, अरूको गल्ती नकेलाऔँ, अरूको चियोचर्चो पनि नगरौँ। आफूलाई अरूसँग कहिल्यै नदाँजौँ। यसो गर्दा तनाव हुँदैन। धेरैजसो अवस्थामा के कारणले मलाई तनाव भइरहेको छ भन्ने कुरै थाहा नभएको हुन सक्छ र साना–सानाले समस्याले विकराल रुप लिइसकेको पनि हुन सक्दछन्। तसर्थ, वास्तवमा मेरो तनावको कारण के हो? भनेर केलाउनु आवश्यक पर्छ। यसो गर्नाले केही हदसम्म तनावको कारक तत्व पहिल्याउन मद्दत गर्छ। जब समस्याको पहिचान हुन्छ, तब व्यवस्थापन, न्यूनीकरण वा समाधानतर्फ अगाडि बढ्न सहज हुन्छ।तनावको कारण थाहा पाएपछि, तनाव लिइरहेको कुरा आफ्नो नियन्त्रणमा छ वा छैन भन्ने कुरा मनन गर्नुपर्छ। विभिन्न अनुसन्धानले के देखाएको छ, हामीले तनाव लिने आधाभन्दा बढी समस्या हाम्रो नियन्त्रणभन्दा बाहिरको हुन्छन्। मानव प्रवृत्ति नै सत्य–तथ्य कुराभन्दा पनि भावनामा बग्ने खालको हुन्छ, अनि कुरै नबुझीकन छिट्टै प्रतिक्रिया दिने बानी पनि बसेको हुन्छ, जसले प्रायः तनाव निम्त्याएको हुन्छ। अतः भावनामा भन्दा यथार्थ कुरा पत्ता लगाएर अघि बढ्दा पनि केही हदसम्म तनावलाई व्यवस्थापन गर्न सकिन्छ।
हाम्रो सन्तुलित खानपान, सरसफाइ, व्यायाम (कम्तिमा १० मिनेट हरेक दिन केही अभ्यास गर्ने), सोच, फुर्सदको समयमा गर्ने गतिविधि (सिर्जनात्मक कार्यमा लाग्ने, साथीभाइसँग रमाउने, मनपरेको कुरा गर्ने) विश्राम, समयको व्यवस्थापन (जरुरी खक महत्वपूर्णमा प्राथमिकता रोज्ने) आदि कुराले जीवनशैली झल्काउँछ। बेलाबखत, आफूमा कस्तो सोचाइ आइरहेको छ? आज मलाई कस्तो छ? आज म खुशी छु कि? तनावमा लागुपदार्थतिर पो ढल्केको छु? भन्ने जानकारी पनि लिनुपर्छ। बाहिरी शरीरलाई राम्रो बनाउनलाई जति मेहनत गर्दछौं, त्यति नै मनको पनि हेरचाह गर्नुपर्छ। सन्तुलित आहार, आराम र निन्द्राप्रति सचेत हुनुपर्छ। चुरोट, सुर्ती आदिबाट टाढै रहनु उचित हुन्छ।हामी तनावमा हुँदा छिटोछिटो श्वास लिने र छाड्ने गरेको हुन्छौं, जसले गर्दा शरीरमा अक्सिजन राम्रोसँग उपयोग हुन पाउँदैन। लामो र गहिरो श्वास लिने र छोड्ने गर्नाले, फोक्सोको तल्लो भागसम्म अक्सिजन पुग्छ र शरीरमा अक्सिजन प्रवाह राम्रो हुन्छ अनि मन शान्त हुन्छ। तनावको समयमा लामो लामो स्वास लिने बानीले पनि तनाव व्यवस्थापनमा टेवा पुर्याउन सक्छ।
तनावसँग एक्लै संघर्ष गर्न नसकिरहेको अवस्थामा, जीवनमा आइपरेका चुनौती, उदासीनता र चिन्ताले भित्रभित्रै पिरोलेको समयमा, अरुको सहयोग आवश्यक पर्दछ, साथीहरू, घरको सदस्य, शिक्षक, अफिसको स्टाफ, आदि। कहिलेकाहीँ घरपालुवा जनावर, मनपर्ने गुडिया वा वस्तु पनि तपाईंको सहयोग प्रणालीमा पर्न सक्दछन्, जसको उपस्थितिले भावनात्मक अप्ठ्यारो पोख्न, तनावको मूल्यांकन गर्न, तनाव कम गर्न, व्यवस्थापनका जानकारीमूलक सुझाव दिन, भौतिक सहयोग गर्न भूमिका खेलेको हुन्छन्। आफू र आफ्नो सहयोग प्रणालीबाट पनि तनाव व्यवस्थापन सम्भव भएन भने professional पनि लिनु पर्ने अवस्था हुनसक्छ। आवश्यकता अनुसार मनोविमर्शकर्ता, मनोवैज्ञानिक, मनोचिकित्सकको सहयोग लिन सकिन्छ। हरेक व्यक्तिको रुचि, चाहना, रोजाइ, रहर फरक–फरक भएझैं ,तनाव व्यवस्थापन पनि फरक हुन्छ र व्यवस्थापनका विधि पनि। अतः आफूलाई कुन विधिले फाइदा भएको महसुस हुन्छ, त्यही तरिका रोज्नु उपयुक्त हुन्छ।
तनावले शरीरलाई कस्तो असर गर्छ?
तनावले स्नायु प्रणालीमा असर गर्दछ।स्नायु प्रणालीले अड्रेनलिन र कोर्टिजोलजस्ता हर्मोन निकाल्छ। यी हर्मोनहरूले मुटुको धड्कन, रक्तचाप अनि रगतमा ग्लुकोजको मात्रा बढाउँछ। अचाक्ली तनावले चिढचिढापन, चिन्ता, डिप्रेसन, टाउको दुख्ने र निद्रा नलाग्ने हुन्छ।मांसपेशी कडा हुन्छ, जसले चोटपटक लाग्नदेखि जोगाउँछ। अचाक्ली तनावले जीउ दुख्ने, टाउको दुख्ने र मांसपेशी बटारिने हुन्छ।स्वाँस्वाँ हुने र सास फेर्न गाह्रो हुने अनि यी समस्या भएकाहरूलाई एकाएक डरले छोप्छ पूरै शरीरमा रगत सञ्चार हुन मुटुको धड्कन छिटोछिटो चल्छ। यस्तो अवस्थामा शरीरको कुनै–कुनै भागमा रगतको मात्रा धेरै पठाउनुपर्छ, जस्तैः मांसपेशीमा। अनि ती भागहरूमा रगत पठाउन रक्त नलीहरू फुल्ने वा खुम्चने गर्छ। अचाक्ली तनावले उच्च रक्तचाप, हृदयघात र मस्तिष्कघात जस्ता समस्याहरू निम्त्याउँछ।ग्रन्थीहरूले अड्रेनलिन र कोर्टिजोलजस्ता हर्मोन निकाल्छ, जसले गर्दा तपाईँको शरीरले तनाव हुनेबित्तिकै प्रतिक्रिया देखाउँछ। अनि तपाईँलाई अझ धेरै उर्जा दिन कलेजोले रगतमा चिनीको मात्रा बढाउँछ। अचाक्ली तनावले मधुमेह, रोग प्रतिरोधात्मक क्षमता घट्ने र रोग लाग्ने, मुड परिवर्तन हुने र वजन बढ्ने जस्ता समस्याहरू निम्त्याउँछ।तनावले गर्दा शरीरमा खानेकुरा पचाउने प्रकियामा असर पुग्छ। अचाक्ली तनावले शिथिल हुने, बान्ता गर्ने, पखाला लाग्ने र कब्जियत हुने जस्ता समस्याहरू निम्त्याउँछ।अत्याधिक तनावले यौनइच्छा र क्रियामा असर गर्छ। अचाक्ली तनावले पुरुषमा यौन शक्तिको कमी अनियमित महिनावारी जस्ता समस्याहरू निम्त्याउँछ।
तनावले आफ्नो कामदेखि निराशा लाग्छ, फ्रस्टेसन हुन्छ, काम गर्ने इच्छा हुँदैन, पहिलेजस्तो काम गर्न सकिँदैन, स–साना कुरामा रिस उठ्न थाल्छ। टाउको दुख्ने, पेट दुख्ने, निद्रा राम्रो नलाग्ने जस्ता लक्षणहरू देखिन थाल्छन्।साथसाथै काम गर्ने चाहना मर्दै जान्छ, कार्यालयमा कार्यरत अन्य कर्मचारीहरूसँगको घुलमिल घट्दै जान्छ, आफन्तहरूसँग टाढै बस्न मन लाग्ने र रक्सी, चुरोट कफी आदिको प्रयोग गर्ने बानी छ भने अझ बढ्दै जान्छ। कुनै निर्णय लिन मन लाग्दैन। शारीरिक र मानसिक रोगका जस्ता लक्षणहरू देखिन्छन्। पेट दुख्ने, टाउको दुख्ने, अत्यधिक थकाइ लाग्ने हुन्छ। साच्चै नै विभिन्न रोगहरू जस्तै उच्च रक्तचाप, चिन्तारोग, डिप्रेसन, आदि सुरु हुन सक्छन्। श्रीमान् वा श्रीमतीसँगको सम्बन्धसमेत बिग्रन थाल्छ। नोकरी छोड्न मन लाग्छ, किन कि सबै समस्याको जड नै त्यही नोकरी हो जस्तो लाग्छ।
हरेक व्यक्तिको मानसिक तनावको व्यवस्थापन गर्न सक्ने क्षमता फरक–फरक हुन्छ त्यसैले सबैलाई वर्नआउट हुन्छ भन्ने छैन। वर्नआउट प्रायः त्यस्ता व्यक्तिलाई हुन्छ जसको बानी हरेक कुरा परफेक्ट हुनुपर्छ भन्ने मान्यता र स्वभाव छ। सुन्दा राम्रो लागे पनि परफेक्ट त कोही पनि हुँदैन भन्ने सम्झनु राम्रो होला। प्रत्येक कामलाई अझ राम्रो गरी गर्न सकिने जहिले पनि हुन्छ त्यसैले काम राम्रो गर्ने गर्नुपर्छ तर १०० प्रतिशत ठिक गर्छु भन्ने सोच्दा तनाव बढी हुन्छ।
कम्पल्सीवनेस भनेपछि जसरी भए पनि गर्नुपर्ने बानी, आजै गर्नुपर्छ, अहिले नै गर्नुपर्छ आदि भन्नुभन्दा परिस्थितिअनुसार आफूलाई ढाल्न सक्ने फ्लेक्सीबल गुणलाई राम्रो मानिन्छ। समय र परिस्थितिले गर्दा सबै आफूले भनेजस्तो नहुन सक्छ, आफ्नो नियन्त्रणभन्दा बाहिर जान सक्छ र त्यस्तो बेलामा समेत परिस्थितिलाई सहज किसिमले लिनु पर्छ। यो सबै मेरो मात्र जिम्मेवारी हो भन्ने बानी ः काम राम्रो गर्ने भनेको टिमवर्क भन्ने पनि हो। सबै मेरो मात्र जिम्मेवारी हो भन्नुभन्दा सामूहिक जिम्मेवारी हो भन्नुपर्छ। सहयोग दिन मात्र तयार हुने तर सहयोग लिन डराउने बानी राम्रो होइन। सहयोग दिँदा पनि नदिने र लिँदा पनि नलिने झनै राम्रो होइन। सबै कुरा जानेको त कोही पनि हुँदैन, आवश्यक परेको बेलामा सहयोग लिँदा, आफूले नजानेको कुरा सोध्दा सानो भइँदैन। त्यसैले सहयोग दिने र लिने दुवै गर्नुपर्छ।
आफ्ना भावनाहरू व्यक्त गर्न नसक्ने बरु भावनाहरूलाई दबाएर राख्ने बानी जब मानसिक तनाव बढ्छ, भावनाहरू उठेका हुन्छन् र यस्ता भावनाहरूलाई आफ्नो मिल्ने साथी–संगीलाई भन्यो भने आफूलाई हल्का हुन्छ तर दबाएर आफूभित्रै राखी राख्यो भने पीडादायक हुन्छ। त्यसैले आफ्ना भावनाहरू दबाएर राख्नुभन्दा व्यक्त गर्नु राम्रो हुन्छ। व्यक्त गर्ने भन्दैमा जसलाई पनि भन्ने भने होइन। आफ्नो मन मिल्ने आफ्ना कुरा सुनिदिने, गोप्यकुराहरू भए त्यसलाई गोप्य राख्ने विश्वासिलो व्यक्तिसँग मात्र व्यक्त गर्नु उपयुक्त हुन्छ। छुट्टी नलिने बानी छुट्टीलिँदा अफिसमा कसले काम गर्ला भन्ने सोच ठिक होइन। सधेँ एकनास काम गर्दा काम गर्ने क्षमता घट्छ, सिर्जनशिलता घट्छ र काम राम्रो हुँदैन। हरेक व्यक्तिले आफ्ना लागि र आफ्ना परिवारका लागि पनि केही समय दिनु पर्ने हुन्छ। त्यसका लागि नै छुट्टीको व्यवस्था गरिएको छ। आकस्मिक अवस्था परे त सबैले बाध्य भएर छुट्टी लिन्छन् तर इमरजेन्सी नपरेको बेलामा पनि छुट्टी लिएर रिल्याक्स गर्ने, रमाउने गर्नुपर्छ। यस्तो गर्दा आफूमा ऊर्जा थपिन्छ र काम गर्ने क्षमतामा वृद्धिसमेत हुन्छ।
मानसिक तनाव हुँदा डराउने, रिसाउने, आत्तिने वा बदला लिने विचार गर्नुभन्दा तनाव घटाउने तरिकाहरू अपनाउनु राम्रो हुन्छ जस्तै बिस्तारै लामो स्वास लिने र छोड्ने, मिल्ने साथीसँग कुरा गर्ने आदि। चिताउँदै नचिताएको समस्या पनि कहिले काहीँ अचानक आइपर्छ त्यस्तो समस्यालाई विचार पुर्याएर समाधान गर्ने प्रयास गर्नुपर्छ। आफ्नो प्लान र काममा परिवर्तन गर्न परे पनि आक्तिनु उचित होइन। प्रत्येक पटक मानसिक तनाव हुँदा किन तनाव भयो भनेर कारण खोज्नु पर्दछ।तनाव दिने कुरालाई कसरी कम गर्ने त्यसतर्फ ध्यान दिनु आवश्यक छ।
आफ्नो क्षमताभन्दा बढीको इच्छा, आकांक्षा, चाहना आदि राख्न थाल्यो भने यो नै मानसिक तनावको कारण हुन सक्छ। आफ्नो मन र शरीरलाई रिल्याक्स गर्ने तरिकाहरू अपनाउनुस् ः यी तरिका हामीं काउन्सेलर वा साइकोथेरापिष्ट कहाँ गएर सिक्न सक्नु हुन्छ। मेडिटेसन सिक्नु भएको छ भने यसले पनि रिल्याक्स गर्छ। त्यस्तै संगीतले पनि मन रिल्याक्स गराउँछ। के गर्न सकिन्छ र के गर्न सकिँदैन त्यसलाई छुट्र्याउनु आवश्यक छ। समाधान हुनै नसक्ने कुरालाई समाधान गर्छु भनेर लाग्नु व्यर्थ छ। हामीको स्वास्थ्य राम्रो रहिरह्यो भने मात्र अरुको सहयोग गर्न सकिन्छ। त्यसैले आफ्नो स्वास्थ्य र आफ्नो सुरक्षामा विशेष ख्याल राख्नु र आफ्नो परिवार तथा मिल्ने साथीहरूसँग समय बिताउनु राम्रो हुन्छ। यसरी समय बिताउँदा मानसिक तनाव घट्छ किन कि केही कुरा गरिन्छ।नियमित ७ घण्टा सुत्नु स्वास्थ्यका लागि राम्रो हुन्छ। शरीर र मनलाई आराम दिने र शरीरलाई शक्तिसमेत दिने राम्रो निद्रा पनि हो। कम सुतेर बढी काम गर्नु स्वास्थ्यका लागि राम्रो होइन। आफूले गर्नै नसक्ने, नभ्याउने वा समय सीमाभित्र काम नसकिने भए पहिले नै यस कारण मैले गर्न सक्दिन भनेर नम्रतापूर्वक भन्नु उपयुक्त हुन्छ। पहिले हुन्छ गर्छु भनेर पछि काम गर्न सकिनँ भन्नु झन् नराम्रो हुन्छ। नसक्ने काम पहिले नै सक्दिन भन्ने बानी बसाल्नु पर्छ।
तनाव कति खतरनाक
हाम्रा पुर्खाहरूलाई जीवनमा तनाव थिएन भन्ने होइन, तर ‘गर या मर’ अवस्था अपनाएर सजिलै त्यसलाई पार गर्न सक्थे। आज हाम्रो जीवनमा तनावको मात्रा र तिनीहरूको आवृत्ति पनि धेरै छ। तर सबैभन्दा गाह्रो कुरा यो हो कि एड्रेनालाईन र कोर्टिसोल जस्ता तनाव हार्मोनहरूको उत्सर्जन हामीलाई आवश्यक नहुँदा बढी खतरनाक हुन्छ।यदि तनाव लामो समयसम्म रह्यो भने यसले हाम्रो प्रतिरक्षा प्रणाली र हृदयलाई हानि पुर्याउँछ। यसबाहेक बाहिरी रोगसँग लड्ने हाम्रो शारीरिक र मानसिक क्षमतामा पनि असर पर्छ।यसको स्पष्ट अर्थ के हो भने तनाव झन् खतरनाक हुन्छ जब तपाई हरेक पाँच मिनेटमा गर या मरको अवस्थाबाट गुज्र्नुपर्छ। के त्यहाँ यो अवस्था सामना गर्न सजिलो र स्वस्थ तरिका हुन सक्छ? हामी यो काम कसरी गर्न सक्छौं? यदि हामीले के महसुस गरिरहेको छ भनेर पत्ता लगाउन सक्छौं भने? हामी कठिनाइहरूसँग स्मार्ट तरिकाले सामना गर्न सक्छौं।
धेरै तनाव लिनुका बेफाइदाहरू
हाम्रो प्रतिरक्षा प्रणाली र हृदय क्षति हुन सक्ने ,गम्भीर रोगको जोखिम बढ्ने,उमेर घट्ने, यौन जीवन खराब हुन सक्ने हुन्छ।तनावले धेरै गम्भीर मानसिक समस्या निम्त्याउन सक्छ। भारतमा हरेक चार जनामध्ये एक जना हरेक वर्ष तनावको समस्याको सिकार हुने गरेको छ। यही कारणले गर्दा धेरै पटक काम गर्दा पनि लामो समयसम्म काममा ध्यान केन्द्रित हुन सक्दैन।मानसिक स्वास्थ्य समस्यालाई लामो समयसम्म बेवास्ता गरियो भने यो गम्भीर समस्यामा परिणत हुन सक्छ। आत्महत्याका घटना र डिप्रेसनका लागी तनाव सबैभन्दा बढी जिम्मेवार हुने भएकाले यसको उपचारको आवश्यकता सजिलै बुझ्न सकिन्छ।
जीवनमा केही समयको लागि उतारचढाव आउनु सामान्य कुरा हो। तर लामो समयसम्म रह्यो भने यसले जीवनसँग सम्बन्धित अन्य कुराहरू पनि बिगार्न सक्छ।तनाव हुँदा चीजलाई सकारात्मक रूपमा हेर्ने प्रयास गर्नुपर्छ। कतिपय अवस्थामा, हामीलाई नयाँ सुरुवात पनि आवश्यक पर्न सक्छ। तर यदि तपाई निरन्तर जागिर, पार्टनर वा घर परिवर्तन गर्दै हुनुहुन्छ भने, यस्तो अवस्थामा तपाईले परिस्थिति होइन, आफैलाई परिवर्तन गर्न आवश्यक छ।
तनाव भन्दा पहिले देखिने सामान्य लक्षण
सामान्य भन्दा बढी वा कम खाने,कम वा बढी सुन्नु,कमजोर स्मरणशक्ति वा बिर्सने,अत्याधिक मात्रामा रक्सी वा ड्रग्स लिनु, छिटो मूड स्विंग हुने,आत्मसम्मानको हानि,सबै समय तनाव वा बेचैनी महसुस हुने ,अत्यधिक थकान वा ऊर्जाको कमी,परिवार र साथीभाइबाट टाढै बस्ने,चरित्रबाट बाहिर निस्कनु,काममा एकाग्रता र संघर्ष गर्न नसक्नु,आफूलाई मन पर्ने कुराहरूमा पनि चासो गुमाउनु,अनौठो अनुभव, त्यहाँ नभएका कुरा देख्नु।यसबाहेक, तनावका केहि शारीरिक लक्षणहरू हुन सक्छन् जसमा टाउको दुख्ने , कब्जियत वा कुनै विशेष अंग वा शरीरमा दुखाइ हुन सक्छ।
अन्त्यमा ,
सकारात्मक तनाव जीवनमा आवश्यक छ। यसबाट सकारात्मक उर्जा प्राप्तभई व्यक्तिलाई गतिशील बनाउँछ। नकारात्मक तनावबाट बच्दै सकारात्मक तनावको उपयोग गरेमा यसले व्यक्ति र संगठन दुवैलाई उत्पादनमुलक बनाउँछ।