विदेशी मुद्रा सञ्चिति ३० खर्ब नाघ्यो, १७.४ महिनाको आयात धान्न पर्याप्त - Chaitanya News
  • 2025-12-16
  • 09:36:40
  • मंगलबार,मंसिर ३०, २०८२
  • विदेशी मुद्रा सञ्चिति ३० खर्ब नाघ्यो, १७.४ महिनाको आयात धान्न पर्याप्त

    विदेशी मुद्रा सञ्चिति ३० खर्ब नाघ्यो, १७.४ महिनाको आयात धान्न पर्याप्त

    काठमाडौं– नेपाल राष्ट्र बैंकले पछिल्लो चार महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ। जसअनुसार विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँ नाघेको छ।

    राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष पहिलो चार महिना (कात्तिक) सम्म विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ। असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो।

    यस्तो सञ्चितिले १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ। वस्तु आयात भने २०.८ महिनाको धान्न पर्याप्त हुने देखिएको छ।

    अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २१ अर्ब ५२ करोड पुगेको छ। असार मसान्तसम्म १९ अर्ब ५० करोड थियो। चार महिनामा डलरमा १०.३ प्रतिशतले वृद्धि भएको छ।

    तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको सञ्चिति असारको तुलनामा १२.८ प्रतिशतले बढेर २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ। असारसम्म २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ थियो।

    बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ३ खर्ब ३० अर्ब ८५ करोड पुगेको छ। असार मसान्तसम्म २ खर्ब ६३ अर्ब ४ करोड थिय।

    कात्तिक मसान्तसम्म विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादन (जीडीपीं) को अनुपातमा ५० प्रतिशत पुगेको छ। कुल आयातको १४४.९ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँग ३७.८ प्रतिशत छ।