कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका ६ का छोटेलाल रानाको १५ कट्ठाको धान पूरै भिज्यो। काटेको दोस्रो दिनदेखि सुरु भएको वर्षाले सबै धान भिजाएको हो। मंगलबारदेखि मौसममा सुधार आएपछि उनलाई अहिले उक्त धान सुकाउने चटारो छ। पाँच दिनसम्मको अविरल वर्षाका कारण धान र पराल कामै नलाग्ने भएको छ।
‘काटेको धान त पूरै सखाप भयो, न पराल काम लाग्ने भएको छ, न त धान नै,’ रानाले भने, ‘अब काटन बाँकी धान पनि पाकेर झर्न लागेको छ।’ उनको करिब एक बिघा जमिनको धान काटन बाँकी छ । मौसम खुलेपछि उक्त धान पनि भित्र्याउने तयारीमा जुटेको उनले बताए। प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन प्रक्रियापछि उम्मेदवारहरू मत माग्दै गाउँघरमा पुग्न थालेका छन्। तर कृषकहरूलाई भने धानबाली भित्र्याउने चटारोले छोएको छ पछिल्लो वर्षा नभएको भए अहिलेसम्म अधिकांशले धानबाली भित्र्याइसक्थे। तर उक्त वर्षाले धानबाली भित्र्याउने समय घर्किएको छ।
बेलौरी नगरपालिका ६ को हात्तीभोजाका असारे बडायकको साढे चार बिघाको धान पूरै पाकेको छ। तर खेतभरि पानी भरिएको छ। ‘अब मौसम खुल्यो, एक–दुई दिनमै काटन सुरु गर्नुपर्छ,’ बडायकले भने, ‘खेतमा पानी भरिएको छ, घाम लागेपछि पानी घट्छ त्यसपछि काटन सुरु गर्नुपर्छ।’
गत वर्षको वर्षाले उनको खेतको पूरै धान भिजेको थियो । यस वर्ष मौसम पूर्वानुमानका कारण उनले धान काटेनन्। आफूले मात्रै होइन अन्य स्थानीयलाई पनि नकाट्न सुझाव दिए। ‘यस पटक मौसम पूर्वानुमानले जोगिए, अरूलाई पनि नकाट्न सल्लाह दिए,’ बडायकले भने, ‘पूर्वसूचना प्रणालीले धेरै जोगायो।’
अविरल वर्षापछि मौसममा सुधार भएसँगै कतिपय क्षेत्रमा कृषकहरूमा धानबाली भित्र्याउने चटारो सुरु भएको छ। अग्लो जमिन भएकाहरू धान काट्न थालेका छन्। होचो जमिन भएकाहरू अझै डराएका छन्।
चोक चौतारादेखि गाउँघरमा चुनावी चर्चा बढ्न थाल्यो, हामीलाई भने धान काट्ने चटारो छ,’ भीमदत्त नगरपालिका ९ मटेनाका रमेश नाथले भने, ‘भोट माग्न नेता कार्यकर्ताहरू पनि आउन थालेका छन्।’ उनका अनुसार उम्मेदवारहरू नै मत माग्न अझै पुगिसकेका छैनन्। तर स्थानीय स्तरका नेता कार्यकर्ताहरू भने पुग्न थालेका छन्।
कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती गरिन्छ। यहाँ धानको उत्पादकत्व ४ मेट्रिक टन प्रतिहेक्टर छ । यस पटक वर्षाका कारण समयमै धानबाली भित्र्याउन नसकेका कारण उत्पादनमा केही ह्रास आउन सक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । पाकेको धान समयमै भित्र्याउन नसकेर खेतमै झर्ने तथा डुबानमा परेको धान उम्रिन थालेका कारण उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर विष्टले बताए। उनका अनुसार जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वास नगरपालिका तथा लालझाडी र बेलडाँडी गाउँपालिकामा डुबानका कारण धानमा बढी क्षति भएको छ।
‘काटेको र ढलेको गरेर १०–१२ प्रतिशत धानमा क्षति पुगेको छ,’ विष्टले भने, ‘अहिले पनि पूर्ण विवरण आइसकेको छैन।’ उनका अनुसार ५ हजार हेक्टर धानबालीमा क्षति पुगेको छ।