ईश्वर पोखरेल पनि यहाँको आदिवासी होइन, मलाई टुरिस्ट उम्मेदवार भन्नु तुच्छ आरोप हो : प्रदीप पौडेल - Chaitanya News
  • 2026-04-23
  • 12:42:48
  • बिहिबार,बैशाख १०, २०८३
  • ईश्वर पोखरेल पनि यहाँको आदिवासी होइन, मलाई टुरिस्ट उम्मेदवार भन्नु तुच्छ आरोप हो : प्रदीप पौडेल

    ईश्वर पोखरेल पनि यहाँको आदिवासी होइन, मलाई टुरिस्ट उम्मेदवार भन्नु तुच्छ आरोप हो : प्रदीप पौडेल

    काठमाडौं– नेपाली कांग्रेसका नेता एवं काठमाडौं ५ मा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार प्रदीप पौडेलले विवेकी मतदाताले आफूलाई जिताउने विश्वास व्यक्त गरेका छन्।

    ‘पार्टीले मलाई काठमाडौं ५ मा उठायो। यस क्षेत्रका लागि म अपरिचित अनुहार होइन, काठमाडौं मेरो कार्यक्षेत्र नै हो। यो चेतनशील र विवेकशील मतदाता भएको ठाउँ हो। म चुनाव प्रचार र मतदातासँगको भेटघाटमा छु। म नयाँ मान्छे होइन। अनटेस्टेड व्यक्ति चाहिँ हो। मैले आफ्नो जितमा कुनै महाभारत देखेको छैन,’ पौडेलले भने।

    तपाईंका प्रतिद्वन्द्वी एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले त तपाईंलाई टुरिस्ट भन्नुभएको छ नि भन्ने प्रश्नमा पौडेलले भने, ‘यहाँका मतदाताले मलाई त्यो ढंगले बुझ्नुभएको छैन। देशको राजधानी कुनै व्यक्ति वा पार्टीको हुन्छ? राजधानीमा कोही टुरिस्ट हुन्छ? यो त तुच्छ आरोप भयो। यहाँ ७७ जिल्लाकै मानिसको उपस्थिति छ। उहाँ कहाँबाट आउनुभएको हो? उहाँ आदिवासी, हामी बाहिरको कसरी हुन्छ? आजका मतदाताले यस्ता भ्रम स्वीकार गर्दैनन्। यसको कुनै पनि तुक छैन।’

    काठमाडौं ५ मा जितेर पोखरेलले कुनै काम नगरेको आरोप पनि उनले लगाए। पौडेलले थपे, ‘मैले यहीं विद्यालय र कलेज पढेको हुँ। २०४३ सालदेखि बसिरहेको छु। यो सांस्कृतिक सहर हो। डाँडागाउँदेखि हाँडीगाउँसम्मका समस्या मलाई थाहा छ। को व्यक्ति कति पटक मन्त्री भयो भन्दा पनि के के काम भयो भन्ने कुरा महत्त्वपूर्ण हो।

    नेता पौडेलले मतदाताको शिर निहुरिने गरी काम नगर्ने प्रतिबद्धता पनि जनाए। उनले भने, ‘म मौका पाएको व्यक्ति हो कि होइन, चुकेको छ कि छैन, त्यो मतदाताले हेर्छन् । मैले अहिलेसम्म कुनै सार्वजनिक पदधारण गरेको छैन। राजनीतिको शुद्धीकरणका लागि म लडेको छु। काठमाडौं ५ ले नैतिक राजनीति गर्ने मानिसलाई चिन्छ।’