काठमाडौं– नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाएका छन्।
अमेरिकामा रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी खेलाडी, बिजेन ईन्टरप्रेनर र भलिबल प्रेमीको सहयोगमा नेपाल भलिबल संघले पहिलो पटक खेलाडीलाई मासिक पारिश्रमिक घोषणा गर्दै खेलाडीलाई पहिलो पारिश्रमिक वितरण समेत गरेको छ।
संघले महिला तथा पुरुष राष्ट्रिय टिमका १२–१२ गरी २४ जनालाई ५–५ हजार प्रदान गरेको छ।
अमेरिकामा रहेका दाताहरुले सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तलब संघको खातामा पठाइसकेका छन्।
संघले मंगलबार तीन महिनाको एकमुष्ट तलब जनही १५ हजारका दरले खेलाडीलाई वितरण गरेको हो। संघले २४ खेलाडीका लागि तलब दिने छ।
नेपाल भलिबल संघले यसलाई नेपाली भलिबल इतिहासमै ऐतिहासिक कार्य भएको दाबी गर्दै यसले खेलाडीलाई सहयोग पुग्ने बताएको छ।
पहिलो मासिक तलब बुझेपछि खेलाडीहरुले खुसी व्यक्त गरे। महिला टिमकी कप्तान अरुणा शाहीले भनिन्, ‘मैले खेल्न थालेको १४–१५ वर्ष भयो, पहिलो पटक यस्तो काम भएको छ।’
यस्तै पुरुष टिमका कप्तान मानबहादुर श्रेष्ठले नेपाली भलिबलका लागि यो ऐतिहासिक दिन रहेको बताए।
खेलाडीलाई तलब दिने भलिबल संघ चौथो हो। यसअघि फुटबल र क्रिकेट खेलाडीले मासिक तलब पाइरहेका छन्। बुद्धीचालका पुरुष र महिलातर्फका नम्बर वान् खेलाडीले पनि मासिक तलब पाउने गरेका छन्।