काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली क्रिकेट टिमलाई बधाई दिएकी टछन। सोमबार भारतसँगको खेलमा नेपालले देखाएको प्रदर्शनबाट विश्वका क्रिकेटप्रेमीहरुको मन जितेको उनले बताएकी छन्।
उनले यसबाट नेपाली क्रिकेटको विकासमा नयाँ सम्भावनाको ढोका खुलेको उल्लेख गर्दै मुलुकले उच्च तहको क्रिकेटमा नयाँ सुरुवात गर्नु सबैको लागि खुसी र गर्वको विषय रहेको बताएकी छन्।
उनले मलेसियामा सञ्चालन भइरहेको टी–२० महिला विश्वकप छनौट प्रतियोगितामा पनि नेपाली महिला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरिरहेकोमा थप सफलताको कामना पनि गरेकी छन्।
‘क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सके मात्र नेपाली क्रिकेटले थप व्यवसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सक्दछ। विश्व समुदायमा मुलुकको पहिचान निर्माण गर्न र आत्मसम्मान बढाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने विषयमा दुई मत छैन। तसर्थ, सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूले क्रिकेट लगायत समग्र नेपाली खेलकूदको विकासमा थप लगानी गर्नु अत्यावश्यक छ, ‘ उनले भनेकी छन्।