प्रतिभाशाली–प्रभावशाली व्यक्तित्वका धनी भगवान् श्रीकृष्ण - Chaitanya News
  • 2026-11-19
  • 05:15:22
  • बुधबार,मंसिर ०३, २०८३
  • प्रतिभाशाली–प्रभावशाली व्यक्तित्वका धनी भगवान् श्रीकृष्ण

    प्रतिभाशाली–प्रभावशाली व्यक्तित्वका धनी भगवान् श्रीकृष्ण

     

    हातमा मुरली, शीरमा मयूरको प्वाँख, शीतल बगैँचामुनि, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान् श्रीकृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट उहाँको जन्म भएको मान्यता रहिआएको छ । आज उनै भगवान श्री कृष्णको जन्मदिन ।

    संसारभरका हिन्दू धर्मावलम्बी अनि श्रीकृष्णका भक्तहरूले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । अत्यन्तै चहक र अति प्रतिभाशाली–प्रभावशाली व्यक्तित्वका धनी भगवान् श्रीकृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्थे । उनको मुस्कानमा हर्ष छ । मनको सौन्दर्यता र सौम्यताको अद्भूत संगमयुक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाँख सजिएको हुन्छ । गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरिएका कृष्णका पोशाकका रंगहरू बिजुली चम्किँदाको जस्तो चम्किलो हुन्छन् । उनको पैतालाका नङ्गका रगंहरूले चन्द्रमाको आभास मिल्छ ।

    त्यस्ता व्यक्तित्वका धनी उनै श्रीकृष्णको परिचयका शृंखला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी, दूध–दहीका घैला फुटाउने, चकचके जस्ता अनेक कार्यहरू ‘कृष्णलीला’ को पगरी गुथेर परिचित छन् । कामले बदनाम तर पनि सबैका प्रिय पात्र । उनका कथा र घटना वृन्दावन, मथुरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू–लोकमै चर्चित छन् । उनी सम्पूर्ण रूपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्न सक्ने दिव्य व्यक्तिका रूपमा अझै पनि चर्चित छन्

    गोविन्द, कन्हैया, मुरलीमनोहर, श्यामसुन्दर, मखनचोर आदि थुप्रै नामबाट पुकारिन्छन् । यिनै कृष्णलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रूपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।

    भगवान् श्रीकृष्णको नामसँगै राधाको नाम पनि बडो आस्थाका साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरू संसारभरि धेरै ठाउँमा छन् । तर राधा–कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासमा लिपिवद्ध छैन । बरू इतिहासले रुक्मिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको उल्लेख भएको पाइन्छ ।

    कृष्ण धारावासीको कृति राधाले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको थियो । तर फेरि कृष्ण र राधाको प्रेमले संसारलाई विवाह हुनैपर्छ भन्ने सम्बन्ध अनि प्राप्तिको आशक्ति बाहिरको सुन्दर प्रेमको उदहारण पनि दिएको छ ।

    कृष्णका कुरा गर्दा ‘मीरा’लाई पनि इतिहासले बिर्सन खोजेको जस्तो भान हुन्छ । मीरा वास्तवमा एक गृहस्थी जीवन व्यतित गरिरहेकी महिला थिइन् । जो कृष्णको आकर्षण र अनुभूति मात्रैले पनि सम्पूर्ण कुराहरू त्यागेर कृष्णको खोजीमा निस्किइन् । मीराका भजनहरूमा र संगीतमा कृष्णमोह पाइन्छ । समर्पण र सुफी भावनाको एउटा अनुकरणीय उदहारण संसारले सिक्न जरुरी छ ।

    श्रीमद् भागवत् गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छन् ः
    ‘यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत
    अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यह्म’
    अर्थात् ः

    “जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हाबी हुँदै जान्छ,
    तब तब धर्म रक्षाका लागि म स्वयं यस धर्तीमा नयाँ अवतार लिएर आउनेछु ।’

    महाभारतमा पाण्डव र कौरवहरूबीच युद्ध हुँदा श्रीकृष्ण पाण्डव पक्षमा थिए । कौरवहरूसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डवतर्फका अर्जुन एकदम्मै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ कौरव सेनामा आफ्नै दाजुभाई र पितामह (हजूरबुबा) सम्मिलित थिए । आफन्तविरूद्धको लडाईँ, हार र जीत दुवैमा निराशा । श्रीकृष्ण आफू जगत् पुरुष भएपनि अर्जुनको मनोबल बढाउने उनको एउटा सामान्य सारथी (एक जोडी घोडायुक्त रथ हाँक्ने व्यक्ति)का रूपमा युद्धमा साथ दिए । ‘काम कहिले पनि सानो ठूलो हुँदैन’ भनी अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबीचको सम्बन्धको व्याख्यालाई प्रेरणाको रूपमा उदाहरण प्रस्तुत गरेका छन् ः

    ‘हे अर्जुन तिमी किन युद्धको परिणामकाबारेमा व्यर्थ चिन्ता लिन्छौ ? कर्म गर फलको आशा नगर ।’

    एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसँग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रूपमा निर्दिष्ट छ । विभिन्न प्रसंगमा भगवान श्रीकृष्णको व्याख्या गरिँदा उनको छेउछाऊ जीवजन्तु, चराचरहरूको पनि नामका कारण जीव–जन्तु र चराचरप्रतिको सेवा र स्नेहको सम्बन्ध पनि सुमधुर छ ।

    श्रीमद् भागवत् गीताका अनुसार, भगवान श्रीकृष्णको जन्म, लीला र उपस्थिति एकदमै अलौकिक छ । जसले ती कुरा बुझ्न सक्छ, उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँछ । कृष्णको जन्म र भौतिक उपस्थिति हामी सामान्य मानवहरूका लागि पूर्वजन्मका कार्यको फलको रूपमा भएको छैन । आफ्ना भक्तहरूलाई आफ्नो माया–प्रेम दर्शाउन र उनीहरूलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ ।

    हामीमध्ये धेरैले कृष्ण र उनको अवतारलाई टिभी सिरियलहरूमा देखेका छौँ । उनको अवतार र कृष्ण नामको पात्र हामी मन पनि पराउँछाँै । उनको सुमधूर व्यक्तित्वको परिकल्पना पनि हामी गर्छाैं । तपाई चाहे जुनसुकै धर्म या समुदायको हुनुहुन्छ, कृष्णलाई धर्मभन्दा पर राखेर एउटा स्नेहमयी इतिहासका रूपमा भगवान श्रीकृष्णलाई लिएर हेरौँ । उनका वाक्यहरूमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, ‘एउटा इतिहासको संक्षिप्त सार छ, नैतिक शिक्षा, युद्ध कौशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ ।’

    कृष्णसम्म यो संन्देश पुग्ने हो भने उनको फेरि धर्तीमा आउने बेला भएको छ, धर्तीलाई माया चाहिएको छ ।
    तिनै भगवान श्री कृष्णको जन्मदिनमा सबैलाई माया र उत्साहको शुभकामना ।