प्रदेश १, मधेस र गण्डकी प्रदेशमा माओवादी केन्द्रमा महिला उम्मेदवार शून्य - Chaitanya News
  • 2026-04-25
  • 00:01:16
  • शुक्रबार,बैशाख ११, २०८३
  • प्रदेश १, मधेस र गण्डकी प्रदेशमा माओवादी केन्द्रमा महिला उम्मेदवार शून्य

    प्रदेश १, मधेस र गण्डकी प्रदेशमा माओवादी केन्द्रमा महिला उम्मेदवार शून्य

    काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रदेश १, मधेस र गण्डकी प्रदेशमा माओवादी केन्द्रमा महिला उम्मेदवार शून्य रहेको छ। प्रदेश १ मा माओवादी केन्द्रका ६ जना उम्मेदवार रहेका छन्। जसमा महिला उम्मेदवार एक जना पनि परेका छैनन्।

    त्यस्तै मधेस प्रदेशमा पनि ६ जना उम्मेदवार रहेका छन्। यो प्रदेशमा पनि महिला उम्मेदवार शून्य रहेको छ।

    गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट ३ जना उम्मेदवार रहेका छन्। यो क्षेत्रमा पनि महिला उम्मेदवार छैनन्। गण्डकीमा माओवादी केन्द्रबाट गोरखा–२ मा पुष्पकमल दाहाल प्रचण्ड लमजुङ–१ मा देब गुरुङ, कास्की ३ मा रामजी प्रसाद वराल (जीवन) को उम्मेदवारी परेको छ।

    देशभरि माओवादी केन्द्रका ८ जनामात्रै महिला उम्मेदवार बनेका छन्। बागमती प्रदेशअन्तर्गत् काठमाडौं–२ मा ओनसरी घर्ती, काठमाडौं–७ मा हिसीला यमी, काठमाडौं९ मा कल्पना धमला, काठमाडौं १० मा अन्जना विसंखेको उम्मेदवारी परेको छ। त्यस्तै ललितपुर ३ बाट पम्फा भुसालको मात्रै उम्मेदवारी परेको छ।

    लुम्बिनी प्रदेशमा दाङ २ बाट रेखा शर्माको उम्मेदवारी परेको छ। कर्णाली प्रदेशमा जुम्ला १ बाट गोमा गौतम कुँवर र सुदुरपश्चिम प्रदेशमा कञ्चनपुर १ बाट विना मगरको उम्मेदवारी परेको निर्वाचन आयोगको सूचीमा उल्लेख छ। माओवादी केन्द्रले समावेशीको आवाज उठाए पनि व्यवहारमा भने कार्यान्वयन नगरेको राजनितीक बिश्लेषकहरु बताउँछन्।