काठमाडौं– नेपालमा एक महिनामा झन्डै १५ हजार डेंगी संक्रमित थपिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार गएको अगस्टमा १४ हजार ७८४ जना संक्रमित भएका हुन्।
योसँगै सन् २०२३ मा (हिजोसम्म) डेंगी संक्रमितको संख्या २२ हजार ६२७ पुगेको छ। जुलाईयता डेंगीका कारण १४ जनाको मृत्यु पुष्टि भएको ईडीसीडीले जनाएको छ।
कर्णालीबाहेक सबै प्रदेशमा संक्रमितको संख्या ३०० भन्दा माथि छ। सबैभन्दा धेरै कोसी प्रदेशमा १७ हजार ८८ जना संक्रमित भएका छन्। वाग्मती प्रदेशमा तीन हजार २४९ संक्रमित भएका छन्।
मधेसमा ५१९, गण्डकीमा ६७९, लुम्बिनीमा ३८५, कर्णालीमा ४७ र सुदूरपश्चिम प्रदेशमा ६६० जनामा संक्रमण पुष्टि भएको ईडीसीडी जनाएको छ।
वाग्मतीका धादिङ, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि डेंगी संक्रमण निरन्तर बढिरहेको छ। धादिङमा संक्रमितको संख्या दुई हजार १७३ पुगेको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा ७७४ जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ।