काठमाडौँ– नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनमा मतदान भोली हुने भएको छ। अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन्।
कँडेल एक वर्षअघि गठन भएको प्रदेश अध्यक्ष हुन् भने रिजाल पूर्वप्रदेश मन्त्री एवं एमाले केन्द्रीय सदस्य हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह र आइतबार बिहान बन्द सत्रमा पनि सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका थिए।
तर कसैले पनि दाबी नछोडेपछि सहमतिको सम्भावना करिब टरेको नेताहरू बताएका छन्। रिजाललाई पार्टी महासचिव शङ्कर पोखरेल निकटका नेताहरू प्रदेश सांसदहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, शिवराज सुवेदी लगायतले समर्थन गरेका छन्।
उपाध्यक्ष विष्णुप्रसाद पौडेल निकट नेताहरुले कँडेललाई दोहोर्याउने प्रयास गरिरहेका छन्। उनीहरूले एक वर्ष मात्र तदर्थ समितिको नेतृत्व गरेकाले कँडेललाई एकपटक अवसर दिनुपर्ने तर्क गरिरहेका छन। यद्यपि कँडेलले आफ्नो गुट नभएको दाबी गरेका छन्।
यो अधिवेशनले २०५ सदस्यीय प्रदेश कमिटी चयन गर्दैछ। १२ जिल्लाबाट जिल्लागत रूपमा १८६, अपाङ्गबाट एक, मजदुरबाट ३ र खुल्लाबाट पदाधिकारीसहित १५ जना चयन हुँदैछन्।
जसअनुसार १२ वटै जिल्ला कमिटीहरूले सहमतिमा नाम पठाउन अलग अलग बैठक सुरु भएका छन्। यदि जिल्लाबाट जाने नाममा सहमति नभए उनीहरूको पनि निर्वाचन हुने छ । पदाधिकारी पाँच जनाको हुनेछन्।
सहमति नजुटेपछि अध्यक्ष मण्डलले मतदाताको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन प्रक्रिया अघि बढाएको निर्वाचन आयोगको कार्यालयले जनाएका छ।