काठमाडौं– टाउको दुखाइ अत्यन्त पीडादायी र टन्किने खालको हुन्छ। यो टाउकोको कुनै एक भाग वा पुरै टाउकोको भाग दुख्न सक्छ।
टाउको दुख्नु आफैमा रोग होइन। यो कुनै पनि रोगको लक्षण हो।
टाउको विभिन्न कारणले दुख्छ। घाममा हिँड्दा वा काम गर्दा र पानी कम हुँदा पनि टाउँको दुख्छ। कहिलेकाही ज्वरो आउँदा पनि अचाक्लि टाउको दुख्छ।
आजभोलि टाउको दुख्ने बिरामीहरुको संख्या अस्पतालमा बढेको छ। तर, यसको उपचार सम्भव कति छ भन्नेबारे विज्ञानले अहिलेसम्म कुनै उत्तर दिएको छैन। केही वर्ष यता सिटी स्क्यान, एमआरआइजस्ता उपचार पद्धति पनि प्रयोग हुन थालेका छन्।
तैपनि कयौं अवस्थामा टाउको दुख्नुको कारण पत्ता लाग्न सक्दैन। टाउको दुख्नु आफैंमा एउटा रोग हुनैपर्छ भन्ने पनि छैन। अन्य रोगहरुका कारण पनि हाम्रो टाउको दुखिरहेको हुनसक्छ। त्यसमाथि टाउको दुख्ने समस्या कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ। जस्तो कि ज्वरो आउनु पहिले, रुँघाखोकी लाग्नु पहिले पनि टाउको दुख्न सक्छ। कहिलेकांही हाम्रो रक्तचाप अत्यधिक बढ्दा पनि हाम्रो टाउको दुख्न सक्छ।
तर, ब्लड प्रेसर बढ्दा टाउको दुख्ने समस्या चाहिँ २० प्रतिशत बिरामीमा मात्र देखिने चिकित्सकहरु बताउँछन्। अरु रोगका कारण वा समस्या कारण हुने टाउको दुखाइलाई सेकेन्डरी मानिन्छ । तर, टाउको दुख्ने नै समस्या पनि छुट्टै रोग पनि हुनसक्छ। माइग्रेन एउटा त्यस्तै रोग हो जसमा टाउको दुखिहाल्छ। तर, केही अवस्थामा टाउको दुख्नु चाहिँ निकै खतरानक हुनसक्छ। यस्तो अवस्थामा तत्काल वा जतिसक्दो छिटो चिकित्सककहाँ पुग्नु राम्रो मानिन्छ।
कहिलेकाही तनावका कारण पनि टाउको दुख्छ।
त्यस्तै अर्को किसिमको टाउको दुखाइ हुन्छ। जसले मस्तिकमा वा धमनीमा समस्या उत्पन्न हुन्छ र टाउको दुख्छ। अत्याधिक औषधिले पनि टाउको दुख्छ।
ग्याष्ट्रिकको कारणले पनि टाउको दुख्छ। उच्च रक्तचापको कारणले पनि टाउको दुख्छ। उच्च रक्तचापको औषधि खानेहरुलाई औषधि नखाएको बेलामा अथवा उच्च रक्तचाप हुन सुरु गर्यो भने पनि टाउको दुख्छ।
आँखाको समस्या भयो भने टाउको दुख्छ। कसैले टाढाको हेर्न सक्दैन कसैले नजिकको हेर्न सक्दैन। नजिकको हेर्न खोज्दा स्ट्रेस हुन्छ टाढाको हेर्दा पनि त्यस्तै हुन्छ। यसले गर्दा आँखाको नशाहरु तन्किन्छ। जसले गर्दा टाउको दुख्छ। यसको लागि सामान्य चश्मा लगायो भने ठीक हुन्छ। कतिपय अवस्थामा आँखाको जाँच गराउनुपर्छ।
डिप्रेशनको कारणले पनि टाउको दुख्छ। राति निन्द्रा परेन भने भोलिपल्ट टाउको दुख्छ। यस्तो बेला टाउको भारी हुन्छ। त्यसैले निन्द्रालाई ध्यान दिनुपर्छ। आराम गर्नुपर्छ। आवश्यक मात्रामा निदाउनुपर्छ।
सामान्य रूघा खोकी र पिनासले पनि टाउको दुख्ने समस्या हुन्छ। बढी चिसो भयो भने र बढी गर्मी भयो भने माइग्रेनको कारणले टाउको दुख्छ।
सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ। जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ।
निरन्तर टाउको दुख्ने समस्या भयो भने पछि गएर दिमागमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने लगायतका सम्भावना उमेरअनुसार बढ्दै जान् । उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनुपर्छ।
टाउको धेरै दुखेको भए टाउकाको सीटी स्क्यान वा मस्तिष्कको एम।आर।आई। वा लम्बर पंक्चर ९मेरूदण्ड र मस्तिस्क वरिपरि को तरल पदार्थ को परीक्षणका लागि० सँगै शारीरिक परीक्षण र विगतका कुराहरूको जानकारी लिनुपर्छ।
यी १० अवस्थामा टाउको दुखेको छ भने तत्काल चिकित्सककहाँ देखाउन जानु पर्छः
१. यदि टाउको यति साह्रै दुखेको छ कि यसअघि तपाईंले कहिल्यै पनि यस्तो महसुस गर्नु भएको थिएन।
२. पहिलो पटक टाउको दुखिरहेको छ र यो अत्यन्त चर्को गरि दुखिरहेको छ।
३. यदि टाउको दुख्नुभन्दा पहिले वान्ता भएको थियो । वान्ता भइसकेपछि टाउको झन् बढी दुखिरहेको छ।
४. यदि टाउको दुख्दा कोही बेहोस भएको छ भने वा शरीरको सन्तुलन बिग्रिएको छ भने वा बोली लटपटिएको छ भने पनि तत्काल उपचार गर्नु आवश्यक हुन्छ।
५. यदि झुक्दा वा खोक्दा वा कुनै गह्रौं सामान उठाउँदा टाउको दुख्छ भने तत्काल उपचारका लागि अस्पतालमा सम्पर्क गर्नु पर्ने हुन्छ।
६. यदि टाउको दुखाइका कारण कोही सुत्न सकेको छैन भने तत्काल चिकित्सक कहाँ पुग्नु पर्ने हुन्छ।
७. यदि रातभर सुतेर उठ्दा पनि विहान टाउको दुखिरहेको छ भने एकपटक चिकित्सककहाँ जाँच्न जानै पर्ने हुन्छ।
८. यदि कोही ५५ वर्षभन्दा माथिको छ र पहिलो पटक यो उमेरमा पुगेपछि टाउको दुखेको अनुभूति गरिरहेको छ भने पनि त्यो व्यक्तिलाई तत्काल अस्पताल लैजानु पर्ने हुन्छ।
९. यदि टाउको दुखिरहँदा टाउकोको दुई भागमा अँठ्याउँदा झन् बढी टाउको दुख्छ भने अस्पताल जानु पर्ने हुन्छ।
१०. यदि टाउको दुख्न थालेको केही दिन वा केही साता भइसकेको छ र यो झन्झन् बढ्दो छ भने तत्काल चिकित्सकहरुलाई देखाउनु पर्ने हुन्छ।