प्रधानमन्त्री देउवाले मागे जसपाका चार मन्त्रीको राजीनामा - Chaitanya News
  • 2026-04-23
  • 12:43:05
  • बिहिबार,बैशाख १०, २०८३
  • प्रधानमन्त्री देउवाले मागे जसपाका चार मन्त्रीको राजीनामा

    प्रधानमन्त्री देउवाले मागे जसपाका चार मन्त्रीको राजीनामा

    काठमाडौ– प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी चार जना मन्त्रीको राजीनामा माग्ने भएका छन्। जसपाका मन्त्रीसँग राजीनामा माग्ने प्रधानमन्त्री कार्यालयको तयारी रहेको एक मन्त्रीले बताए।

    उहाँले गठबन्धन छाड्नुभयो। सत्ता गठबन्धनबाट बाहिरिएर विपक्षी गठबन्धनमा गइसकेपछि उहाँहरुले राजीनामा दिँदा सहज हुन्छ। प्रधानमन्त्री कार्यालयले उहाँहरुको राजीनामा माग्छ।’ जसपाका मन्त्रीहरुले राजीनामा नदिए प्रधानमन्त्री देउवाले जिम्मेवारीबाट हटाउने कांग्रेसका ती मन्त्रीले बताए।

    ‘मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीज्यूले उहाँहरुको राजीनामा माग्नुहुन्छ। कति जनाले राजीनामा दिनुहोला, कति जनाले नदिनु होला। उहाँहरुले राजीनामा दिए सहज भइहाल्यो। नभए प्रधानमन्त्री ज्युले जिम्मेवारीबाट हटाउनुहुन्छ।’

    राजीनामा आउने अपेक्षाका साथ विनाविभागीय बनाउने वा बर्खास्त गर्ने भन्नेबारे छलफल नभएको ती मन्त्रीको भनाइ छ। ती मन्त्रीका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच जसपाका मन्त्री हटाउने विषयमा सहमति भइसकेको छ।

    जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव सरकारमा सहभागी छन्।

    सत्ता गठबन्धनसँगको चुनावी तालमेलमा सिट बाँडफाँटबारे असहमति जनाएर जसपाले एमालेसँग सहकार्य गरेपछि उनीहरुको पद धरापमा परेको देखिन्छ। मन्त्री तथा जसपाका नेता श्रेष्ठले भने एमालेसँग गठबन्धन गरेको नभई केही सिटमा चुनावी तालमेल मात्रै गरेकाले सरकारबाट हट्न जरुरी नभएको बताए। यद्यपि प्रधानमन्त्रीले आफूहरुलाई मन्त्री पदबाट हटाउँदा आफूहरू मान्न तयार रहेको मन्त्री श्रेष्ठको भनाइ छ।

    ०७४ मा पनि तत्कालीन सत्ता सहयात्री दल नेकपा माओवादीले विपक्षी एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए। अहिले पनि जसपाका मन्त्रीले राजीनामा नदिए सोही परिस्थिति आउने देखिन्छ।

    निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना भने छैन। निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने नमिल्ने निर्वाचन आयोगका सह–प्रवक्ता सूर्य प्रसाद अर्यालको भनाइ छ।