हामीमध्ये अधिकांश व्यक्तिलाई रातिको खानामा केही मिठो अथवा गुलियो खानेकुरा खान मन लाग्छ। स्वभाविकै हो, यदि तपाईं आफ्नो शरीरको वजन कम गर्न थाल्नु भएको छ भने गुलियो खाने तलतललाई कुनै फलफूलबाट पुरा गर्नु पर्नेछ। फलफूलहरु प्रायः स्वास्थ्यवद्र्धक, रसिलो, पोषणले भरिपूर्ण, प्राकृतिक रुपमै गुलियो तथा कुनै मिठाई अथवा चकलेटभन्दा धेरै गुणा उत्कृष्ठ हुन्छ। त्यसो त, सधैं के कुरामा बहस हुन्छ भने राति फलफूल खानु कत्तिको सही हो ?
आयुर्वेदका अनुसार जब तपाईं खाना खानु हुन्छ त्यसलगत्तै फलफूल खानु पाचनक्रियाको लागि राम्रो होइन। प्राचीन चिकित्सा प्रणालीले सुत्नुभन्दा कम्तिमा ३–४ घण्टा पहिला डिनर गरिसक्नु पर्ने बताउँछ। यदि तपाईंले फलफूल तथा खाना एक साथ खानु भयो भने तपाईंको शरीरले पहिला फलफूललाई पचाउँछ र त्यसपछि खानालाई पचाउँछ। जसका कारण पेट खराब हुने समस्या हुनसक्छ र साथै तपाईंको शरीरले खानाको आवश्यक पोषणको फाइदा पनि उठाउन पाउँदैन।
यहाँनेर, कतिपय मानिसहरुको भनाइ के छ भने सुत्नुभन्दा पहिला फलफूल खानाले राम्रो निद्रा पर्छ। तर, वास्तविकता त्यसको ठिक विपरित हुन्छ। फलफूलले शरीरमा चिनीको मात्रा बढाउँछ। जसले तपाईंको उर्जालाई बढाइदिन्छ र राति सुत्दा तपाईंलाई अफ्ट्यारो हुन सक्छ। तर, यसको अर्थ राति फलफूल खानै हुँदैन भन्ने चाहिँ होइन। यसलाई समय मिलाएर राति पनि खान सकिन्छ। तपाईंले रातिको खाना खाएको कम्तिमा ४५ मिनेटपछि कुनै फलफूल खान सक्नु हुन्छ।
तपाईंले सुत्नुभन्दा अघि कुन फल खाने भन्ने कुरामा पनि ध्यान दिनु अनिवार्य छ। राति प्लेटभरीको फलफूल खानु हुँदैन। यदि तपाईंलाई गुलियो नै खान मन छ भने फलफूलको एक–दुई टुक्रामात्रै लिनु पर्छ। जसमा चिनीको मात्रा कम तथा फाइबर बढी होस्। जस्तो तरबुजा, नासपाती अथवा किबीजस्ता फलफूल खान सकिन्छ। राति फलफूल खाने बित्तिकै सुत्नु पनि हुँदैन।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने रातिको खाना तथा फलफूल सेवनको बीचमा कम्तिमा ३० मिनेटको ग्याप हुनैपर्छ। यदि सम्भव भयो भने फलफूललाई तपाईंले रातिको खाना खानुभन्दा एक घण्टा अघि नै सेवन गर्नसके अझ राम्रो हुन्छ। यसो गर्दा पाचन तन्त्रले दुबै प्रकारका खानालाई राम्ररी पचाउन सक्छ।