प्रचण्डविरुद्ध बागी उम्मेदवार बनेकी माधवी भन्छिन्- गठबन्धन भत्किने प्रधानमन्त्रीको डरले उम्मेदवारी फिर्ता लिएँ - Chaitanya News
  • 2026-04-24
  • 23:34:51
  • शुक्रबार,बैशाख ११, २०८३
  • प्रचण्डविरुद्ध बागी उम्मेदवार बनेकी माधवी भन्छिन्- गठबन्धन भत्किने प्रधानमन्त्रीको डरले उम्मेदवारी फिर्ता लिएँ

    प्रचण्डविरुद्ध बागी उम्मेदवार बनेकी माधवी भन्छिन्- गठबन्धन भत्किने प्रधानमन्त्रीको डरले उम्मेदवारी फिर्ता लिएँ

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बागी उम्मेदवार बनेकी नेपाली कांग्रेसकी नेतृ माधवी भट्टले गठबन्धन भत्किने प्रधानमन्त्रीको दबाब पछि आफूले उम्मेदवारी फिर्ता लिएको प्रष्टिकरण दिएकी छन्।

    गोरखा–२ मा प्रचण्डविरुद्ध बागी उठेकी उनले हिजो उम्मेदवारी फिर्ता लिएकी थिइन्, सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफूले उम्मेदवारी फिर्ता लिनुको कारण उल्लेख गरेकी छन्।

    यस्तो छ उनको प्रष्टिकरण

    नेपाली काँग्रेस पार्टीमा ७० वर्षको लगानी भएको परिवारले पार्टी त्यागेर विद्रोह नगर्न प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाण तथा प्रवक्ता प्रकाशशरण महत लगायतका नेताहरूले अनुरोध गरेपछि मैले उम्मेदवारी फिर्ता गरेकी हुँ।

    पार्टीभित्र र बाहिर राजनैतिक सुद्दिकरणको अभियानबाट म पछि हटेको कदापि होइन्। गोरखा क्षेत्र नं. २ मा मेरो उम्मेदवारी फिर्ता नभए गठबन्धन भत्कने र त्यसको असर देशका प्राय सबै निर्वाचन क्षेत्रमा पुग्ने प्रधानमन्त्री र गृहमन्त्रीको आकलन रहेपछि म पछि हटेकी हुँ।

    तिमी पार्टी नेता कृष्ण प्रसाद भट्टराईको सच्चा अनुयायी हौ र पार्टीमा भट्टराईको धार मासिँदै गएको वेला तिमी स्वतन्त्र उठ्ने र पार्टीले कारबाही गर्ने काम ठिक होइन्। पार्टीभित्रै रहेर आफ्ना असन्तुष्टिहरू अभिव्यक्त गर। मन नपरेका विषयमा विरोध गर। म त्यसलाई गलत मान्दिन।“ प्रधानमन्त्रीले भन्नु भयो ।

    काठमाडौँ क्षेत्र– २ लाई राजनीतिक कर्मथलो बनाए पनि मेरो उम्मेदवारीसँगै सहयोग र समर्थनमा उभिनु भएका मेरो जन्मस्थल गोरखा जिल्लाका पार्टी पङ्तिभित्र रहनुभएका र बाहिर रहनु भएका हजारौँ व्यक्तिहरूप्रति म यस पटक चुनावी मैदानमा रहन नसके पनि तपाईँहरूसँग निरन्तर सम्पर्कमा रहिरहने वाचा गर्दछु।

    आफ्नो उम्मेदवारीलाई निरन्तरता दिन नसकेकोमा म मतदातासँग माफी माग्दछु।

    नेपाली कांग्रेस २०५७ सालमा विभाजन हुँदा सभापति देउवा विभाजनको पक्षमा समर्थन जुटाउन हामी बसेको डेरामा पुग्नु भएको थियो। बुबाले ‘पार्टीभित्र मेरा चरम असन्तुष्टि छन् तर म विभाजनको पक्षमा छैन। पार्टीभित्रै बसेर सङ्घर्ष गर्नेछु भन्नु भएको थियो।’ मैले पनि पार्टीभित्रै बसेर सङ्घर्ष गर्ने निर्णय गरे । यसलाई अन्यथा नबुझ्न मतदाताहरूलाई हार्दिक अपिल गर्दछु।