बाढी–पहिरोका कारण कर्णालीमा दसैँपछि ३५ जनाको मृत्यु, २० जनाको अवस्था अझै अज्ञात - Chaitanya News
  • 2026-04-24
  • 23:34:51
  • शुक्रबार,बैशाख ११, २०८३
  • बाढी–पहिरोका कारण कर्णालीमा दसैँपछि ३५ जनाको मृत्यु, २० जनाको अवस्था अझै अज्ञात

    बाढी–पहिरोका कारण कर्णालीमा दसैँपछि ३५ जनाको मृत्यु, २० जनाको अवस्था अझै अज्ञात

    काठमाडौं–  कालिकोटको तिलागुफा नगरपालिका–४ मा मलामी गएका १३ जना बेपत्ता भए। असोज २३ मा हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जनाको अवस्था अहिले पनि अज्ञात छ। अन्त्येष्टि कर्म चलिरहँदा आएको पहिरोले उनीहरूलाई कर्णाली नदीमा बगाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

    असोज १९ बाट सुरु भएको वर्षाका कारण आएको बाढी र पहिरोका कारण कर्णाली प्रदेशमा मात्र २० जना बेपत्ता छन्। तीमध्ये १८ जना कालिकोटबाट बेपत्ता भएका छन्। ‘बाढी र पहिरोका कारण कालिकोटबाट १८ जना बेपत्ता भएका छन्’ कालिकोटका डिएसपी जयश्वर रिमाल भन्छन्–‘५ जनाको मृत्यु भएको छ।’

    बाढीका कारण कालिकोटमा कार्यरत एकजना प्रहरी जवान पनि बेपत्ता भएका छन्। जुम्लाबाट बिदा सकेर सुर्खेत तिर जाँदै गरेका प्रहरी जवान पदम राउतलाई नदीले बगाएर बेपत्ता बनाएको कालिकोटका डिएसपी रिमालले जानकारी दिए। सेरेघाटको खोला तर्न लाग्दा उनलाई सो खोलाले तिलाकर्णालीमा मिसाएको छ। उनको अवस्था अहिलेसम्म अज्ञात छ।

    दसैँको टिकापछि बाढी–पहिरोका कारण कर्णाली प्रदेशमा ३५ जनाले ज्यान गुमाएका छन्। विपद्मा परेर २३ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कालिकोट बाहेक दैलेख र जुम्लामा एक–एकजना बेपत्ता छन्। वर्षाका कारण घर क्षति भएर ४ सय ८० जना विस्थापित भएका छन्। प्राकृतिक विपद्बाट २ हजार ८ सय ८९ परिवार प्रभावित भएका छन्।

    कालिकोटबाट बेपत्ता हुनेहरू

    कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको अवस्था अझै अज्ञात छ। बेपत्ता भएकाहरू सबैजना तिलागुफा नगरपालिका–४ राँचुली गाउँका हुन्। बेपत्ताहरूको प्रहरीले खोजी गरिरहेको छ।

    १. कालीबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ४७ वर्ष।

    २. धनबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ६३ वर्ष।

    ३. छत्रजंग शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ३६ वर्ष।

    ४. खगेन्द्र शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २८ वर्ष।

    ५. भेषबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २३ वर्ष।

    ६. धन शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ५५ वर्ष।

    ७. अलि शाहि, तिलागुफा नगरपालिका–४ राँचुली, ७६ वर्ष।

    ८.खेमराज शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २३ वर्ष।

    ९. मानबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ५७ वर्ष।

    १०. मोतिलाल शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ४१ वर्ष।

    ११. पर बहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ५६ वर्ष।

    १२. नरेश शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २४ वर्ष।

    १३. प्रशान्त शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २३ वर्ष।

    हेलिकप्टरबाट उद्धार

    पहिरो र बाढीका कारण घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। कालिकोट, हुम्ला र जुम्ला सहितका जिल्लाबाट १२ जनालाई हेलिकप्टरबाट उद्धार गरेर घाइतेहरूलाई सुर्खेत र नेपालगञ्जका अस्पतालमा भर्ना गरिएको छ।

    असोज २२ मा जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ मा आएको पहिरोमा परेर घाइते भएका सरस्वती हमाल र राम बहादुर हमाललाई हेलिकप्टरबाट उद्धार गरिएको थियो। उनीहरूको सुर्खेतमा उपचार भइरहेको छ।

    कालिकोटको तिलागुफा नगरपालिका–४ स्थित राँचुलमा पहिरोमा परेर घाइते भएका वीर बहादुर शाही र नरेन्द्र शाहीको सुर्खेत स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

    असोज २३ मा जुम्लाको सिजा गाउँपालिका–४ गुठीगाउँमा पोल ढलेर च्यापिँदा गिरिजा बुढा घाइते भए। उनलाई उद्धार गरेर बाँकेको कोहलपुर स्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ। कालिकोटको पचाल झरना गाउँपालिका–७ मा पहिरोमा परेर घाइते भएकी २ वर्षीया निक्की कोहराको पनि कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

    हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोमा परेका ४ जनालाई स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्धार गरेको छ। उद्धार गरिएका ३८ वर्षीय मनवीर भन्ने देउच्म कामी, ३६ वर्षीय औगति कामी र ३ वर्षीय तपेन्द्र कामीको सुर्खेत स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। हुम्ला ताजाकोट गाउँपालिका–५ का ७ वर्षीय केशव नेपालीको पनि सुर्खेतमा उपचार भइरहेको छ।