एकपटक एक जना शिक्षक आफ्ना निम्नमाध्यमिक तहका छात्रछात्रालाई लिएर कतै घुम्न जाँदै थिए। लक्षित स्थान पुग्नुअघिको यात्रामा उनी आफ्ना शिष्यहरूलाई असल संगतको प्रभावबारे बताइरहेका थिए। तर, उनले जति नै मृदु स्वरमा बुझाउने कोसिस गरे पनि कलिला बालबालिकाको मस्तिष्कमा उनको भनाइको तात्पर्य घुसिरहेको थिएन।
यसै क्रममा ती शिक्षकले नजिकैको एउटा बगैँचामा गुलाफका फूलहरू मुस्कुराइरहेको देखे। उनले तत्काल एक शिष्यलाई सो गुलाफको बोटको फेदबाट एक मुठी माटो ल्याउन अह्राए। उनको आदेश पाउनासाथ एक विद्यार्थी बगैँचातिर खुर्र दौडिए। उनले गुरुको आदेशअनुसार एक मुठी माटो पनि ल्याए। त्यसपछि शिक्षकले सबैलाई पालैपालो सो माटो सुँघ्न अह्राए। प्रत्येक शिष्यले माटो सुँघे।
माटो सुँघ्दै जाँदा उनीहरू अचम्ममा पनि परिरहेका थिए। एक जना विद्यार्थीले सोधे– गुरुदेव, यो माटोबाट त ठ्याक्कै गुलाफको जस्तै मिठो बास्ना आइरहेको छ। यसको कारण के हो? हामी जान्न चाहन्छौँ। शिष्यको जिज्ञासापछि शिक्षकले हल्का मुस्कुराउँदै भने– हो, यही कुरा त म तिमीहरूलाई अघिदेखि बुझाउने कोसिस गरिरहेको थिएँ।
वास्तवमा यस माटोमा गुलाफको फूलबाट शीतका थोपा तप्पतप्प खसिरहन्छन्। अनि, ओइलाउँदै गएका गुलाफका फूलका पत्रहरू पनि यहीँ खस्छन्। जसको प्रभावले गर्दा यो सामान्य माटोबाट पनि गुलाफको बास्ना आएको हो। यो सब संगतको प्रभाव हो। यो माटोमा गुलाफको सुगन्धको प्रभाव परेजस्तै असल मानिसको संगतको प्रभाव पनि मानिसमा सकारात्मक नै पर्छ।