चर्चामा तीन स्वतन्त्र मेयर ! कसको स्वभाव कस्तो ?  - Chaitanya News
  • 2026-11-19
  • 04:32:55
  • बुधबार,मंसिर ०३, २०८३
  • चर्चामा तीन स्वतन्त्र मेयर ! कसको स्वभाव कस्तो ? 

    चर्चामा तीन स्वतन्त्र मेयर ! कसको स्वभाव कस्तो ? 

    स्थानीय चुनाव सकिएको निकै लामो समय भइसकेको छ । सबै पालिकाहरूले आफ्नो तवरबाट विकाशको गति लिइरहेको छ । आज हामी केही स्वतन्त्र मेयरको बारेमा कुरा गर्नेछौँ ।
    स्थानीय चुनावमा धरान उप–महानगर पालिकाका हर्क साम्पाङ राई, काठमाडौँ महानगर पालिकाका बालेन शाह र धनगडी उप–महानगर पालिकाका गोपी हमालको चर्चाले देश नै तात्यो ।
    यी तिनै स्वतन्त्र उम्मेद्वारले जितेपछि देश नै खुसी भएको अवस्था थियो ।
    अब कुरा गरौँ, यी तीनको बारेमा ।
    सुरु हर्क साम्पाङबाट गरौँ ।
    खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हुन् । शुक्रबारे माविबाट एसएलसी दिएर उनी २०५५ सालतिर उच्च शिक्षा अध्ययनको लागि धरान झरेका हुन् । महेन्द्र बहुमुखी क्याम्पसबाट उनले राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् ।
    पूर्व ब्रिटिश लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए र रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताए। साहित्यमा रुचि भएका उनी आफँै गीत लेख्छन्, गाउँछन् । एक दशकअघि ‘मिसिङ हर्ट’ नामको एल्बम पनि निकालेका छन् ।
    उनमा देशलाई केही गरौं भन्ने भावना थियो। कुनै काम सुरु गरेपछि निरन्तर लागिरहने जिद्दी र विद्रोही स्वभाव छ उनको। २०७२ सालतिर धरान हुँदै जाने १०५ मिटरको मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौं परिवारलाई उठीबास लगाउने भएपछि संघर्ष समिति बनेर आन्दोलन भएको थियो। समितिमा उनी सहसंयोजक थिए ।

    हर्क साम्पाङ
    हर्क साम्पाङ
    उनको टर्निङ पोइन्ट त्यही धनकुटे रोड विस्तारविरुद्धको संघर्ष बन्यो । त्यसपछि नै साम्पाङ धरानको सामाजिक मुद्दाहरूमा आवाज उठाउन थाले । भ्रष्टचार र बेथितीविरुद्ध निरन्तर बोल्न थाले । जनताको जनजीविकाको सानो सानो विषयमा आवाज उठाइरहँदा नै आफूलाई विश्वास गरेको साम्पाङ ठान्छन् । ‘मैले ठूलो मुद्दा उठाएको होइन, जनताको जनजिविकाको विषयमा आवाज उठाएको हो, जनतालाई ठूलो कुरा चाहिएको पनि होइन रहेछ,’ उनी भन्छन्, ‘खानेपानीको बिषय उठाए, नगरपालिका र विपी प्रतिष्ठानको भ्रष्टचारबारे बोले, सुकुम्बासी संरक्षण र व्यवस्थानबारे बोले, सडकको खाल्डाखुल्डी, महंगी नियन्त्रणबारे पनि आवाज उठाए, त्यसैले जनताले मलाई नियालिरहनुभएको रहेछ।’
    स्थानीय मुद्दा मात्र होइन, सिमा अतिक्रमण र एमसिसिविरुद्ध पनि उनी कहिले एक्लै प्रर्दशनमा हिँड्थे, कहिले सिमित संख्यामा आफ्नो समर्थकहरुको साथमा विरोध प्रर्दशन गर्थे। सिमा अतिक्रमणको मुद्दा चर्किदा उनले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना अघि पनि पुगेर सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाऊ भन्दै प्रर्दशनसमेत गरेका थिए । सर्दु खोला जथाभावी उत्खनन् भएको विरोधमा जादा ठेकेदारको समुहले उनका समर्थकहरुलाई आक्रमण गरेर घाइतेसमेत बनाएको थियो। पछि प्रहरीले उल्टै उनी र उनका साथीहरुलाई मुद्दा चलाएको थियो। खानेपानी पाइप तोडफोड गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए। उनी जे गर्छन्, आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट लाइभ पनि गर्छन्। धरान र विदेशमा रहेका हजारौं मानिस उनीसँग त्यसरी जोडिएका छन्, र उनको अभियानबारे जानकार छन्। उनले चुनाव चिह्न लौरो पाएपछि सबै वडामा घरदैलो गर्न पाएनन्, र फेसबुकबाट नै चुनावी अभियान गरेका थिए ।
    तर उनले चुनाव जितेपछि आफ्नै स्टाटसका कारणले बारबार विवादमा तानिने गरेका छन् ।
    बालेनले नसोचेको जित हात परेपछि युवा वर्गमा बेग्लै किसिमको सम्भावना पलाएको थियो ।
    ३१ वर्षीय बालेन्द्र साह उर्फ बालेन पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी ¥यापरका रूपमा पनि चर्चित छन् । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको छ ।
    काठमाडौंको गौरीगाउँमा जन्मिएका साह आयुर्वेदिक चिकित्सक डा. राम नारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् । २०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए ।
    नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, –यापर तथा कवि–लेखक साहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ । विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु साहको पक्षमा देखिएका छन् । अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, हास्य कलाकार निर्मल शर्मा खुलेरै उनको पक्षमा लागे ।

    बालेन
    निर्देशक निश्चल बस्नेत र गायिका इन्दिरा जोशी साहको घोषणापत्र प्रस्तुत गर्ने कार्यक्रममै उपस्थित थिए । साहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् ।
    उनले काठमाडौंको मेयरमा उमेद्वारी दिने गरी तयारी ५ बर्ष अगाडिबाट नै गरेका थिए, यो विचमा उनले घरबेटीसँग बालेन, अबको काठमाडौं जस्ता लोकप्रिय अभियानहरुसमेत संचालन गरे । बाहिरबाट काठमाडौं पढ्न गएका विद्यार्थी नै उनका लागि सबैभन्दा चुनाव प्रचारका मुख्य स्रोत थिए ।
    ‘अहिले मैले पूर्वाधार, बाटो, पुल, विद्यालय, अस्पताल बनाउने काम गरिरहेको थिएँ । थोरै नीति निर्माणमा संलग्न हुने, शिक्षा, स्वास्थ्यदेखि लिएर फोहोर व्यवस्थापनमा इञ्जिनियरिङ जस्ता समग्र कुरामा म सरिक छु,’ उनी भन्छन्, ‘यो अनुभव काठमाडौं महानगरका लागि आवश्यक छ भन्ने मलाई लाग्छ । समग्रमा एउटा शहर, गाउँ र देश चलाउनलाई जे–जे काम गरिन्छ, त्यो कुरामा संलग्न हुँदै आएको छु ।’ भन्ने बालेनले नै चुनाव जितेका हुन् ।
    त्यसैगरी धनगडीका उप महानगरपालिकाका स्वतन्त्र उम्मेद्वार गोपी हमालको जितपछि धनगडीले विकाशको फड्को लामै मारिरहेको कुरा हामी सबैलाई विद्तै रहँदै आएको कुरा हो । सुदूरपश्चिममा गोपाल हमाल आफैंमा एउटा ‘ब्राण्ड नेम’ हो । उनी ‘गोपी दाइ’को रूपमा सुपरिचित छन् । २०६४ सालमा कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष बनेपछि चलाएको ‘सुन्दर सुदूरपश्चिम’ अभियानको सफलताले उनलाई लोकप्रिय बनायो ।
    महोत्सव आयोजना र सचित्र पुस्तक प्रकाशनबाट संसारलाई ‘सुदूरपश्चिम सुन्दर छ’ भन्ने सन्देश दिन उनी नेतृत्वको उद्योग वाणिज्य संघ सफल भयो ।
    त्यसअघि सुदूरपश्चिमलाई अशिक्षा, गरिबी र देउकी, छाउपडी जस्ता कुप्रथा भएको क्षेत्रको रूपमा लिइन्थ्यो । सुदूरपश्चिमको त्यस्तो नकारात्मक छविलाई सुन्दरमा ब्रान्डिङ गरेर ‘गोपी दाइ’ लोकप्रिय भए । त्योसँगै उनमा राजनीतिक महत्वाकांक्षा पलायो ।

    गोपी हमाल
    सामूहिक वा व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री लगायत सरकारका उच्च अधिकारी र नेतालाई किलोको तौलमा माला लगाइदिने कुप्रथाको सुरुवात पनि सुदूरपश्चिमका यिनै ‘गोपी दाइ’बाट भयो ।
    धनगढी विमानस्थलका लागि ‘एक पैसा अभियान’ पनि चलाएका हमालसँग विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध भएर काम गरेको अनुभव पनि छ ।