राति कुन समयमा खाना खानुहुन्छ ? सात, आठ, नौ। कतिपयले त रातको खाना १० बजे पनि खान भ्याउँदैनन्। हतार-हतार खाना खान्छन् र ओछ्यानमा पल्टन्छन्।
हामीलाई लाग्छ, खाना भनेको भोक लागेको बेला खाने हो। जतिबेला मन लाग्छ त्यही बेला खाने हो। राति खानु र दिउसो खानुसँग के फरक पर्छ ? जतिबेला खाएपनि शरीरभित्रै पुग्ने हो। खानाले गर्ने काम त्यही हो। तर, समय र खानपानले शरीरमा खास असर गर्छ। कुन बेला खाने, कति खाने भन्ने कुरा निर्धारण हुनुपर्छ।
राति अबेर खाँदा के हुन्छ ?
राति खाना खानु स्वास्थ्यका हिसाबले त्यती अनुकुल मानिदैन। जब हामी राति अबेर खाना खान्छौं, खानेकुरा पच्न पाउँदैन। किनभने रातको समयमा विश्राम गरिन्छ। यतिबेला शरीरलाई अतिरिक्त उर्जा आवश्यक हुँदैन। त्यसैले हामीले खाएको खानेकुरा पचाउनै गाह्रो हुन्छ।
अपच हुने त छँदैछ, शरीरमा आवश्यक्ताभन्दा बढी क्यालोरी जम्मा हुन्छ। वोसो लाग्ने, मोटोपन बढ्ने जस्ता समस्या यहीबाट सुरु हुन्छ।
खानसाथ सुत्ने बानी
हामीलाई हेक्का हुँदैन कि खाना खाएको कति समयपछि सुत्ने ? हामीलाई त निद्रा लाग्नसाथ सुत्न जान्छौं। राति अबेर भरपेट खाना खाएपछि झ्याप्प निद्रा लाग्छ। यही मौकामा हामी ओछ्यानमा पल्टन्छौं।
अब सोच्नुहोस् त भर्खरै खाएको खानेकुरा पेटमा कति बोझिलो भयो होला ? शरीर निस्त्रिय भएपछि ति खानेकुरा कसरी पच्छ होला ?
खाना खाएको कम्तिमा दुई घण्टापछि मात्र सुत्नुपर्छ। दुई वा तीन घण्टाको ग्याप हुनुपर्छ खानपान र सुताईको। खाना खाएर केही क्षण टहलिने, बस्ने। त्यसपछि मात्र सुत्न जाने। यो पनि सुपाच्य भोजन गरेको अवस्थामा। भरपेट खाइसकेपछि त पचाउन गाह्रो हुन्छ।
राति भरपेट खाने, खानसाथ ओछ्यानमा पल्टने बानीले हाम्रो पाचन यन्त्रलाई खराब बनाउँछ। जब पाचन यन्त्र खराब हुन्छ, स्वास्थ्यमा अरु किसिमको समस्या देखापर्न थाल्छ।
रातको खाना कतिबेला ?
उचित खानपान तालिका अनुसार राति अबेर खाना खानु उपयुक्त हुँदैन। जतिसक्दो चाडो खाना खानुपर्छ। के भनाई छ भने, सूर्योअस्त पछिको खानेकुरा विष समान हुन्छ। अर्थात सूर्योअस्तपछि हामी जुन खानेकुरा सेवन गर्छौं, त्यो शरीरका लागि आवश्यक हुँदैन। शरीरमा अनावश्यक खानेकुरा पुग्छ। अनावश्यक खानेकुरा पुग्नु भनेको शरीरलाई डस्बिन जस्तै बनाउनु हो। जब हामी आफ्नो पेटलाई डस्बिन बनाउँछौं भने शरीर कसरी निरोगी हुन्छ।
त्यसैले संभव भएसम्म चाडै खाना खानुपर्छ। साँझ सूर्योअस्तअघि नै खाना खानु उत्तम। कतिपय अवस्थामा चाहि यस्तो तालिका मिलाउन संभव हुँदैन। औषधी सेवन गरिरहेको अवस्थामा, रोग लागेको अवस्थामा, कामको चाप भएको अवस्थामा, रात्रीकालिन काम गर्नुपर्ने अवस्थामा। त्यसैले आफ्नो अनुकुलता पनि हेर्नुपर्छ। यद्यपी राति सुत्नुभन्दा दुई वा तीन घण्टा अघि खाना खानु उत्तम हो।
रातको खाना कति ?
एउटा प्रशिद्ध उखान छ, बिहानको खाना आफु खानु, दिउँसोको साथीसँग बाँडेर खानु, रातको खाना सत्रुलाई दिनु।
यसको अर्थ बिहानको खाना जति सेवन गरिन्छ, त्यसपछि खानाको मात्रा कम गर्दै जानुपर्छ। सकेसम्म रातको खाना कम खाएकै वेश हुन्छ।
बिहान भरपेट खाना खानुपर्छ। त्यही खानाले हामीलाई दिनभरको लागि उर्जा दिन्छ। त्यसपछि क्रमस खानेकुराको मात्रा घटाउनुपर्छ। रातिको खाना सकेसम्म हल्का वा सजिलै पच्ने किसिमको हुनुपर्छ।
रातको खाना चाडै खाएमा के लाभ हुन्छ ?
रातको खाना चाडै र हल्का खाएमा अनावश्यक तौल बढ्दैन। वा तौल नियन्त्रण हुन्छ। गहिरो निद्रा लाग्छ। बिहान उठ्दा शरीर हल्का महसुष हुन्छ। पेट भारी हुँदैन। यसले मुटुमा पनि सकारात्मक प्रभाव पार्छ। फ्याट र कोलोस्टोरको समस्या कम हुन्छ। पेट सम्बन्धीका समस्याहरु हट्छ। – एजेन्सीको सहयोगमा