वि.सं. १९०६ माघ ४ गते काठमाडौँबाट बेलायत यात्राको लागी निस्केको जंगबहादुरको टोली निकै ठूलो थियो । १२०० सैनिकहरूको साथमा अन्य भाइभारदार, कर्मचारी, चित्रकार, भान्से, पण्डित सबलाई लगेका थिए, जंगबहादुरले साथमा ।
यो टोली फागुन २ मा ढाका र फागुन २४ मा कलकत्ता पुगेपछि केही दिन त्यही घुम्नको लागी रोकिए । जगन्नाथ पुरीमा जंगबहादुरले ५००० रूपैयाँ मन्दिरलाई दान गरेका थिए । आजको रकममा परिवर्तन गर्ने हो भने यो करोडौ रूपैयाँ हुन आउँछ ।
चैत्र २७ गते बेलायतको लागि पानीजहाजमा यात्रा आरम्भ भयो । ५००० पाउण्ड रकममा भाडामा लिएको ए एण्ढ इ कम्पनीको हेडिङटन स्टिमरमा जंगबहादुरको यात्रा आरम्भ भएपछि १२०० सैनिकले बिदाइ गर्दा सबै सैनिकहरू धेरै समय सम्म पनि रूदै समुन्द्र हेर्दै बसेका थिए । उनीहरूको सोचाइमा समुन्द्री यात्रा डरलाग्दो हुन्छ तसर्थ महाराजा अब कहिल्यै फर्केर आउने छैनन् भन्ने थियो ।
मद्रास, सिलोन (श्रीलंका), एडेन (यमन), स्वेज (इजिप्ट), काइरो (इजिप्ट), एलेक्जेन्ड्रिया, जिब्राल्टर हुँदै जेठ १४, १९०७ मा बेलायतको दक्षिण साउथ हार्बरमा करिब साढे चार महिना पछि बल्ल पुग्न सफल भए ।
सबैको मान्यता जंगबहादुर यूरोप पुग्ने पहिलो नेपाली थिए । तर जंगबहादुर लण्डन पुगेको दुइ दिनमा नै सडकमा घुम्दै गर्दा अचानक सडकमा कुचो लगाएर माग्दै गरेको नेपालीमाथि जंगबहादुरको आँखा पुग्यो । उनले बोलाएर सबैकुरा सोधे । त्यसपछि कहिले कसरी बेलायत पुगेको सबै सबिस्तारमा वर्णन गरे उनले ।
उसको नाम मोतीलाल सिंह थियो, भक्तपुरमा जन्मेका उनि १९ बर्षको उमेरमा अंग्रेज नेपाल युद्धमा घाइते भएका उनलाई अंग्रेज सेनाले कब्जामा लिएका थिए । उसको बहादुरीबाट खुसी भएका अंग्रेज सैनिक अधिकारीले उनलाई वि.सं . १८७१ मा गठन भएको फस्ट गोर्खा राइफलमा सैनिकको रूपमा भर्ती गराइदिए । अंग्रेजी बोल्न सिकेका उनले पछि कलकत्तामा विवाह गरे र बालबच्चा पनि भयो । यसरी खुसीसाथ बसेको उसलाई एक दिन एक ब्रिटिस क्याप्टेनले बेलायत जाने सपना देखाए । उनी क्याप्टेनको साथ वि.सं. १९०० तिर लण्डन पुगे । केही दिनमा भएको पैसा पनि चोरी भयो र लण्डनको सडकमा बेवारिस भए । मागेर खाने र चर्चमा बस्ने तथा कुचो लगाउने काम गर्न थाले ।
अचानक १९०७ जेठ १६ मा जंगबहादुरको नजर परेपछि जंगबहादुरले उनलाई उसको दुखद परिस्थितिबाट मात्र मुक्त गरेनन् । उनलाई आफ्नो यात्रा भरी दोभाषेको रूपमा साथ राखे । आफू जहाँ जहाँ गए सबै ठाउँमा सम्मान साथ उसलाई लिएर गए । मोतिलाल सिंहले जंगबहादुरलाई महत्वपूर्ण ठाउँ मात्र घुमाएनन् । त्यहाको सबिस्तार वर्णन पनि गरे ।
जंगबहादुरका साथ पेरिस पनि पुगे मोतिलाल तर जंगबहादुर नेपाल फर्कदा उनी नेपाल फर्कन मानेनन् ।