पोखरा — मानवअधिकारवादी तथा वामपन्थी नेता टेकनाथ बरालको निधन भएको छ। उनको निधन आज मंगलबार) पोखरामा मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा भएको हो।
पुराना वामपन्थी नेता बराल मानवअधिकारको क्षेत्रमा सक्रिय थिए। उनले राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण मञ्चको स्थापना समेत गरेका थिए। पछिल्लो समय उनी घरमै आराम गरिरहेका थिए।
विसं १९९६ मा बैदाममा जन्मिएका बरालले आठ कक्षा पास गरेर शिक्षक तालिम लिएपछि विभिन्न विद्यालयमा पढाए। केही साथीसँग मिलेर बैदाममै विसं २०१५ मा जनज्योति प्रावि स्थापना गरेर त्यहीँ पढाउन थाले। पञ्चायतकालमा उनी राज्य विद्रोहको तयारी गरेको अभियोगमा पक्राउसमेत परेका थिए। टेकनाथलाई त्यसबेला रानीपौवाको जेलमा राखिएको थियो।
तीन महिना बन्दी भएर तारेखमा छाडिएका बराल तारेखमा जानुको सट्टा केही साथी बटुलेर चितवन गएर हेटौंडा हुँदै काठमाडौं पुगे। त्यसपछि उनी बनारस गएर बसे। जहाँबाट उनले मेट्रिक पास गरे। आईए पढ्दै गर्दा पुष्पलालले उनलाई कम्युनिस्ट पार्टीको सदस्य बनाएका थिए। बनारस रहँदा बरालले विद्यार्थी संगठनमा रहेर काम गरेका थिए। त्यस क्रममा विभिन्न मुखपत्र पनि प्रकाशन गरे। २०२५ सालतिर उनी पुनः नेपाल फर्किए। तत्कालीन सरकारले उनलाई राज्यविरुद्ध प्रकाशन गरेको भन्दै तीन वर्ष जलमा राखेको थियो।